हेटौंडा । बालविवाह, कम उमेरमै हुने विवाह र जबरजस्ती विवाह अन्त्यका लागि काम गर्दै आएको ‘बालिका दुलही होइनन् (GNB) नेपाल’ ले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट प्रकाश खतिवडा (बाल कल्याण समाज, मकवानपुर) अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा सुलोचना खनाल, महासचिवमा सबिना भण्डारी, सचिवमा चेतन गिरी र कोषाध्यक्षमा कृष्णकुमार द्विवेदी चयन भएका छन्।
त्यसैगरी, विभिन्न जिल्लाबाट सात जना सदस्य कार्यकारी समितिमा चयन भएका छन्। अध्यक्ष खतिवडाले सबै सदस्य संस्थालाई धन्यवाद दिँदै बालविवाह अन्त्यका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले यो जिम्मेवारी ठूलो दायित्व भएको बताए। उनका अनुसार GNB नेपालले संघ, प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नेछ। किशोरी, युवा र समुदायसँग सहकार्य बढाइनेछ। GNB ग्लोबलसँगको समन्वय पनि बलियो बनाइनेछ।
निर्वाचन प्रक्रिया अधिवक्ता नवराज ढकालको नेतृत्वमा निष्पक्ष रूपमा सम्पन्न भएको थियो। GNB नेपालले बालविवाह शिक्षा, स्वास्थ्य, गरिबी र लैङ्गिक समानतासँग जोडिएको विषय भएकाले सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।


