काठमाडौं। काठमाडौँ सहर अझै निद्रामा हुन्छ, एकाबिहानै १८ वर्षीय सन्दीप थापाका हातहरू फोहोरको थुप्रोमा आफ्नो भविष्य खोजिरहेका हुन्छन्। काठमाडौँका साँघुरा गल्लीहरूमा फोहोर संकलन गर्नु उनको दैनिकी मात्र होइन, बाँच्ने आधार हो। ती फोहोरका डङ्गुरहरू पन्छाउँदै गर्दा उनको मनमा एउटै प्रश्न उब्जिरहन्छ—‘मेरो परिचय फोहोरमा काम गर्ने मान्छेमा मात्र सीमित हो?’
सन्दीपको कथा डोटीको दुर्गम गाउँबाट सुरु हुन्छ, जहाँ उनले पहिलो पटक संसार हेरे। तर, भाग्यले उनलाई सुखको श्वास फेर्न दिएन। ६–७ वर्षकै कलिलो उमेरमा आमाले छोडेर गइन् र बुबाको कुनै अत्तोपत्तो रहेन। टुहुरो बनेका सन्दीपलाई फुपू र दिदीहरूले सिन्धुलीका पाखाहरूमा हुर्काए। सन्दीपले ममताको काख त पाए, तर अभावले उनलाई कहिल्यै छोडेन।
सन्दीपमा पढ्ने ठुलो धोको थियो। तर ७ कक्षा उत्तीर्ण गरेर ८ कक्षामा भर्ना हुन जाँदा विद्यालयले ‘जन्मदर्ता’ माग्यो। आमाबुबाको नाम नभएको कारण कानुनी कागजात बन्न सकेन र सन्दीपको शिक्षाको यात्रामा त्यहीँ पूर्णविराम लाग्यो। ‘नागरिकता नहुँदा पढ्ने इच्छा मात्र होइन, जिउने आधार नै मर्दो रहेछ,’ उनी मलिन स्वरमा यति परिपक्व विचार राख्छन्।
शिक्षाको ढोका बन्द भएपछि सन्दीप कामको खोजीमा काठमाडौँको ‘भिड’ मा मिसिन आइपुगे। दिदी–फुपूहरूसँग भक्तपुरमा बस्ने उनी फोहोर व्यवस्थापनको काम गर्छन्। महिनाको २० हजार रुपैयाँ तलब छ उनको। यसले बिहान–बेलुकाको छाक टार्नै हम्मे–हम्मे पर्ने उनी बताउँछन्। यो सहरमा बाँच्न कति कठिन छ भन्ने कुरा उनले यी सडकहरूमै सिकेका छन्। त्यसैले त उनी फजुल खर्च गर्दैनन्, बरु एक–एक पैसा जोगाउँछन्, एउटा ठुलो सपना पूरा गर्न। उनलाई विदेश जानु छ।
उनको शरीर काठमाडौँको फोहोरमा भए पनि नजर टाढाको क्षितिजमा छ। उनी रहरले होइन, एउटा सम्मानित जीवनको खोजीमा खाडी वा अन्य कुनै देश जान चाहन्छन्। उनी भन्छन्, ‘मलाई आफ्नो खुट्टामा उभिनु छ, ताकि कसैले मलाई हेप्न नसकोस्।’ उनको अबको एउटै लक्ष्य भनेको जसरी पनि नागरिकता बनाउने र विदेश जाने हो। तर आमाबुबाको ठेगान नभएका उनलाई नागरिकता कसरी लिने भन्ने चिन्ता छ। ‘नागरिकता सजिलै बन्यो भने त कति सजिलो हुन्थ्यो,’ उनी आशा व्यक्त गर्छन्, ‘तर पनि अंकलहरूले गरिदिन्छु भनेका छन्, हुन्छ होला।’
नागरिकता नहुँदा उनी आफ्नै देशमा ‘अनागरिक’ महसुस गर्छन्। ‘आफ्नै माटोमा उभिएर पनि मलाई कहिलेकाहीँ बङ्गाली जस्तो पराया महसुस हुन्छ,’ उनको यो वाक्यले राज्यको व्यवस्थामाथि कडा प्रहार गर्छ।
सन्दीपको कथाले नेपालको नागरिकता ऐन र अनाथ बालबालिकाको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। उनी भन्छन्, ‘हामी जस्ता अभिभावकविहीनका लागि सरकार अभिभावक बन्नुपर्ने नि, तर खै!’ उनको माग साधारण छ— एउटा परिचयपत्र र सम्मानपूर्वक काम गर्ने वातावरण।
सन्दीप थापा ती हजारौँ नेपाली युवाका प्रतिनिधि हुन्, जो कागजातको अभावमा आफ्नै देशमा शरणार्थी झैँ बाँचिरहेका छन्। फोहोरको थुप्रोबाट सुरु भएको उनको दिन र टाढाको आकाशमा उड्न खोज्ने उनको सपना बीचको सङ्घर्ष नै आजका युवाको यथार्थ हो। परिस्थिति जतिसुकै प्रतिकूल भए पनि आफ्नो स्वाभिमानका लागि लड्ने सन्दीपको हिम्मत भने साँच्चै तारिफयोग्य छ।


