काठमाडौँ। ३४ औँ विश्व खानेपानी दिवश मनाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन) ले प्रदेश, जिल्ला र स्थानीय कार्यालयलाई परिपत्र गरेको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत पैरवी, उपभोक्ता समितिहरूको क्षमता विकास, उपभोक्ताहरूमा सचेतना अभियान र हकहितका लागि क्रियाशील रहँदै आएको कुरा स्मरण गराउँदै महासंघले खानेपानी सम्बन्धी कार्यक्रम गर्न आग्रह गरेको हो। साथै, महासंघले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत सरोकारवालाहरू बीच समन्वयकारी भूमिका र सहकार्य गर्दै आइरहेको कुरा पनि उल्लेख गरेको छ।
महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको हस्ताक्षर भएको उक्त परिपत्रमा भनिएको छ, ‘मार्च २२ अर्थात् चैत्र ८ गते “पानी र लैंगिक समानता” भन्ने मूल नाराका साथ “३४ औं विश्व पानी दिवस” विविध कार्यक्रम आयोजना गरी मनाउन हुन सबै तहगत महासंघ र उपभोक्ता समितिहरूमा अनुरोध गर्दछु।’
साथै, महासंघले कार्यक्रम सम्पन्न भएपछि हप्तादिनमा प्रतिवेदन र फोटाहरू केन्द्रीय कार्यालयमा पठाउन भनेको छ।


