काठमाडौं। काठमाडौंको धापासी क्षेत्रमा एका बिहानै एउटा सिठीको आवाज सुनिन्छ। त्यो सिठीको आवाजसँगै फोहोर सङ्कलन गर्ने गाडी आइपुग्छ, जसको स्टेरिङ सम्हालिरहेका हुन्छन्—भीम प्रसाद लामिछाने। विगत दुई वर्षदेखि 'नेप्सेम्याक' मा कार्यरत भीम प्रसादको परिचय अहिले एउटा कुशल सफाइकर्मी र गाडी चालकको रूपमा स्थापित छ। तर, यो पेसामा आउनुअघिको उनको कथा भने निकै लामो र सङ्घर्षपूर्ण छ।
भीम प्रसादको श्रमको यात्रा नेपालबाट सुरु भएको होइन। उनले आफ्नो जीवनका उर्जावान १५ वर्ष वैदेशिक रोजगारीमा बिताए। सन् २००७ मार्च १२ मा पहिलोपटक कुवेत उडेका उनी त्यसपछि दुबई र कतार पुगे। उनले विशेष गरी ड्राइभिङ र सेल्सको काममा लामो समय बिताए। विदेशमा सरकारी कम्पनीमा काम गरेकाले सेवा सुविधा राम्रै थियो, तर मनमा सधैँ एउटै कुरा खेलिरहन्थ्यो— आफ्नै देशमा केही गर्ने।
'विदेशमा १४-१५ वर्ष नै काम गरियो, त्यसले गर्दा खेरि चाहिँ आफ्नो बल चल्ने बेलासम्म घरमै काम गरौँ भन्ने हिसाबले म नेप्सेम्याकमा जोडिएको हो,' भन्छन् उनी । घर पायक पर्ने र दिउँसोको समयमा घरमै बस्न पाइने भएपछि उनले साथीको सल्लाहमा यो काम रोजे। तर, बाहिरको काम छोडेर नेपालमा फोहोरको गाडी सम्हाल्न सुरुका दिनमा भने निकै कठिन भयो। 'सुरुवाती दिनमा चाहिँ बानी नपरेको काममा अलिकति अप्ठ्यारो नै हुन्छ। बाहिर काम गरेर आइराख्या, यहाँ आएर एक्कासी यसमा जोडिँदा खेरि चाहिँ अलिकति हो अप्ठ्यारो नै हुँदो रहेछ एक-डेढ महिना जति,' उनी सम्झिन्छन्।
काम सुरु गरेको केही समयमै भीम प्रसादले एउटा यस्तो घटना भोगे, जसले उनलाई यो पेसाप्रतिको सामाजिक दृष्टिकोण कस्तो छ भन्ने कुरा प्रस्ट पारिदियो। धापासी क्षेत्रमा फोहोर उठाउन जाँदा एक दिन उनले एउटा पसलको फोहोर उठाएनन्। कारण थियो— नियम। फलफूल लगायतका धेरै फोहोर आउने पसलबाट फोहोर उठाउन विशेष कार्ड वा अनुमति चाहिन्थ्यो, जुन त्यो पसलसँग थिएन।
नियम अनुसार काम गर्दा पनि उनले प्रशंसा होइन, अपमान र गाली सहनुपर्यो। 'पसलको छुट्टै फलफूल पसलहरूको फोहोर भयो भने देखि त्यसको कार्ड बनाउनुपर्छ भन्ने हिसाबले हामीले अब यसरी लान मिल्दैन, अफिसले रोक्नु भन्या छ भनेपछि अनेक गालीगलौजहरू दिने, त्यस्तो मसँग भएको छ,' उनले तीतो अनुभव सुनाए। यो उनको कामको सिलसिलामा भोगेको पहिलो र निकै मन दुखाउने घटना थियो।
भीम प्रसादका अनुसार समाजमा अझै पनि सफाइकर्मीलाई हेर्ने नजर बदलिएको छैन। 'फोहोरमैलामा काम गर्ने मान्छेलाई अलिकति अपहेलना चाहि गर्छन् नै। किनभने, अब उसले अरू कामै नपाएर, खानै नपाएर, उसको घर परिवारै छैन जस्तो गर्ने। तर सबैमा त्यस्तो छैन। १०० मा ५ प्रतिशत मान्छे त्यस्ता निस्किन सक्छन्,' उनी भन्छन्, 'काम भनेको एउटा आफुले गरेर खाने हो, जुन योग्यताले भ्याएको छ त्यही काम गर्ने हो।'
अहिलेको स्थितिमा आफ्नै लगानी गरेर केही गर्न उनी अलि डराउँछन्। देशको अवस्था कतिखेर के हुन्छ भन्ने कुराले लगानी गर्न डराएकाे उनले बताए।
उनको नजरमा फोहोर व्यवस्थापन भन्दा पनि ठूलो समस्या राजनीतिक क्षेत्रमा छ। 'बरु हाम्रो फोहोरमा त्यति समस्या छैन, बरु राजनीतिक फोहोर चाहिँ धेरै भइसक्यो। नयाँ जेनेरेसन र नयाँ सिस्टमले देशको काँचुली फेर्छ भन्ने आश लागेको छ,' उनी भन्छन्।
दुई वर्षको अनुभव बटुलेका भीम प्रसादले सफाइकर्मीहरूको सुविधाका लागि सरकार र प्रशासनसँग केही ठोस माग राखेका छन्। उनले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छन्। 'सबैभन्दा ठूलो कुरो स्वास्थ्य नै हो, स्वास्थ्यभन्दा ठूलो कुरो धन होइन। कर्मचारीहरूलाई सरकारी तहबाट स्वास्थ्य उपचारमा पहिलो प्राथमिकता दिएर राम्रो गरिदिए, अनि महँगी बढे अनुसार स्यालरीहरू अलिकति राम्रो भयो भने अझ राम्रो हुन्छ,' उनी भन्छन्।
यसरी परदेशको १५ वर्षको अनुभव लगेर आफ्नै देशको सेवामा निस्किएका भीम प्रसाद लामिछाने, आफ्नो काम र परिवारको साथमा सन्तुष्ट छन्।
भीमप्रसादको बाँकी कथा हेरौँ यो भिडियोमा !


