कञ्चनपुर। सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको एउटा सानो थारु बस्ती। जहाँ बिहानको मिरमिरेसँगै हलो र जुवाको आवाज सुनिन्छ र साँझपख सखिया नाचको मादलुको तालले गाउँ गुञ्जायमान हुन्छ। यही सांस्कृतिक सुगन्ध र थारु समुदायको सरल परिवेशमा गीता चौधरीको बाल्यकाल बित्यो। उनकाे जन्म एउटा सामान्य किसान परिवारमा भएको हो। उनकाे परिवारको मुख्य आधार नै कृषि थियो, जहाँ हरेक गाँसका लागि पसिना बगाउनुपर्थ्यो।
गीताको सफलताको चमक पछाडि अभावका लामा र अँध्यारा रातहरू लुकेका छन्। एउटा सामान्य थारु परिवारकी छोरीका लागि शिक्षा प्राप्त गर्नु त्यतिबेला फलामको चिउरा चपाउनु सरह थियो। समाजमा छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने संकुचित सोच व्याप्त थियो। तर, अभावका बीच पनि गीताको मनमा केही गर्ने तीव्र इच्छाशक्ति थियो। कयौँ पटक आर्थिक समस्याका कारण शिक्षा रोकिने अवस्था आउँदा पनि उनले हार मानिनन।
पढाइमा अब्बल गीताले कानुन विषय रोज्नुको पछाडि पनि एउटा गहिरो कारण थियो—आफ्नो समुदायले भोग्नुपरेको अन्याय। उनले देखेकि थिइन कि कसरी सोझासाझा मानिसहरू कानुनी ज्ञानको अभावमा ठगिन्छन्। त्यसैले, उनले अधिवक्ता बनेर अदालतमा निमुखाको पक्षमा बहस गर्न थालिन। उनकाे यो व्यावसायिक यात्रा केवल जागिर मात्र थिएन, समाज परिवर्तनको एउटा औजार थियो।
जब गीता चौधरी मन्त्री बनेको खबर कञ्चनपुरको त्यो सानो बस्तीमा पुग्यो, पूरै गाउँमा दीपावली झैँ खुसीयाली छायो। छिमेकीहरू र गाउँलेहरू अहिले पनि उनकाे पुर्ख्यौली घरमा जम्मा भएर खुसी साटासाट गरिरहेका छन्। स्थानीयले व्यक्त गरेका केही मर्मस्पर्शी भनाइहरू यहाँ प्रस्तुत छन्:
गाउँका एक ज्येष्ठ नागरिकले भावुक हुँदै भने, 'हाम्रो थारु समाजमा छोरीहरूलाई घरको चुलोचौकोमै सीमित राखिन्थ्यो। तर गीताले ती सबै साङ्लाहरू चुँडालेर बाहिर निस्किन्। आज उनी मन्त्री बन्दा हामीलाई लागेको छ कि हाम्रा दुःखका दिन अब सकिए। उनी हाम्रो समाजको पहिलो महिला दीप हुन् जसले कञ्चनपुरलाई मात्र होइन, सिंगो देशलाई उज्यालो दिनेछिन्।'
गाउँका एक छिमेकी भन्छन्, 'हामीले गीतालाई सानोमा हिलो-मैलो खेल्दै गरेको देखेका हौँ। उनले कति दुःख गरेर यहाँसम्म आइन् भन्ने हामीलाई थाहा छ। त्यसैले त उनीप्रति हाम्रो भरोसा बढी छ। उनी पदमा पुगे पनि आफ्नो माटो र मान्छेलाई भुल्ने मान्छे होइनन्। उनले ठूला नेताहरूसँग मिलेर हाम्रो क्षेत्रको मात्र होइन, देशकै मुहार फेर्ने गरी काम गर्नेछिन् भन्नेमा हामी ढुक्क छौँ।'
'हाम्री छोरी कृषि मन्त्री भएकी छिन्। उनले खेतीपातीको दुःख सानैदेखि भोगेकी छिन्, त्यसैले उनले किसानको मर्म बुझ्नेछिन्। उनीबाट हामीले धेरै आशा गरेका छौँ। उनी पहिलो महिला हुन् हाम्रो समाजबाट यति माथिल्लो तहमा पुग्ने, त्यसैले उनले सबैलाई समेटेर देश परिवर्तनको नेतृत्व गर्नेछिन्।'
गीता चौधरीको यो यात्रा एउटा व्यक्ति मन्त्री बन्नु मात्र होइन, बरु कञ्चनपुरको एउटा कुनाबाट सुरु भएको संघर्षले पाएको राष्ट्रिय सम्मान हो। आज उनको गाउँका हरेक व्यक्तिको आँखामा एउटै चमक छ—'आफ्नै छोरीले देश बनाउनेछिन्'।


