काठमाडौं। अनुसन्धानका नाममा देशका प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई अनावश्यक रूपमा हिरासतमा राख्ने कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल श्रेष्ठ र उनको समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समूहले पछिल्लो समय निजी क्षेत्रमाथि भइरहेको धरपकडले समग्र आर्थिक वातावरणमा नकारात्मक असर पर्न जाने भन्दै चिन्ता व्यक्त गरेको हो।
विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा लगायतका व्यवसायीहरूलाई नियन्त्रणमा लिइएको घटनाले निजी क्षेत्रप्रतिको सरकारी व्यवहारमाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ। कुनै पनि आरोपको निष्पक्ष छानबिन नगरी व्यक्तिलाई अपराधी सरह व्यवहार गर्ने प्रवृत्ति विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यताको विपरीत रहेको श्रेष्ठ समूहको ठहर छ।
विज्ञप्तिमा अनुसन्धानको प्रक्रियालाई सम्मान गर्दै त्यो पारदर्शी र मर्यादित हुनुपर्नेमा जोड दिइएको छ। 'अनुसन्धान आवश्यक छ, तर त्यो कानुनी प्रक्रिया र व्यक्तिको गरिमालाई सम्मान गर्दै हुनुपर्छ, दोष प्रमाणित भएपछि मात्र कारबाही गरिनु न्यायोचित हुन्छ, तर अनुसन्धानकै नाममा प्रतिष्ठा हनन गर्ने र मानसिक दबाब सिर्जना गर्ने कार्य कुनै पनि दृष्टिले मनासिब देखिँदैन।'
वर्तमान आर्थिक संकटको घडीमा सरकार र निजी क्षेत्रबीच उच्च तहको विश्वास र सहकार्य हुनुपर्नेमा यस्ता घटनाले लगानीकर्ताहरूमा असुरक्षा र भय पैदा गरेको विज्ञप्तिमा उल्लेख छ। देशमा स्थायी सरकार गठन भई लगानीको सकारात्मक वातावरण बन्न लागेको समयमा व्यवसायीमाथि हुने यस्ता धरपकडले उद्यमशीलता र रोजगारी सिर्जनामा दीर्घकालीन प्रतिकूल प्रभाव पार्न सक्नेतर्फ सचेत गराइएको छ।
निजी क्षेत्रको सम्मान र सुरक्षित व्यावसायिक वातावरण बिना मुलुकको आर्थिक विकास सम्भव नहुने यथार्थलाई गम्भीरतापूर्वक बुझ्न आग्रह गर्दै श्रेष्ठ समूहले सम्बन्धित निकायहरूलाई व्यावसायिक वातावरण नबिग्रिने गरी संयमित भएर कार्य गर्न माग गरेको छ।


