Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

खानेपानीमा मधेशको बदलिँदो चित्र

खानेपानीमा मधेशको बदलिँदो चित्र

शुक्रबार, वैशाख १८ २०८३
शुक्रबार, वैशाख १८ २०८३
  • काठमाडाैं। मधेश प्रदेशका ग्रामीण तथा अर्ध शहरी क्षेत्रहरूमा खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापन अब पूर्वाधार निर्माणमा मात्रै सीमित विषय रहेन। यो विषय समुदायको सक्रियता, उत्तरदायित्व र समावेशी नेतृत्वसँग पनि जोडिएको छ। विशेषगरी पछिल्ला वर्षहरूमा महिला सहभागिताले यस क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको छ।

    images

    संविधान र स्थानीय तहसम्बन्धी कानुनहरूले उपभोक्ता समितिहरूमा समावेशी सहभागिता अनिवार्य गरेपछि महिलाहरूको उपस्थिति बढेको त छ, तर नेतृत्व तहमा उनीहरूको पहुँच अझै सीमित देखिन्छ। यद्यपि, सीमित अवसरका बाबजुद नेतृत्वमा पुगेका महिलाहरूले देखाएको कार्यदक्षता र प्रतिबद्धताले अर्थपूर्ण सहभागिताको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

    यही परिवर्तनको जीवन्त उदाहरण हुन् रौतहटको चन्द्रपुर नगरपालिकास्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी कोषाध्यक्ष विनिता बक्रेल। सामान्य सदस्यमा सबैभन्दा बढी मत पाएर चुनिएकी ५३ वर्षीया विनिताको जीवनयात्रा कुनै चलचित्रको कथा भन्दा कम रोचक छैन।

    विनिता बक्रेलको उपभोक्ता समितिमा प्रवेश कुनै ठूलो आकांक्षाका साथ भएको थिएन। उनी सुरुमा सदस्यका रूपमा जोडिएकी थिइन्, त्यो पनि समितिमा कोरम पुर्‍याउने उद्देश्यले। त्यतिबेला उनलाई न त नेतृत्वको अनुभव थियो, न सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास।

    'पहिले त बैठकमा बोल्न पनि डर लाग्थ्यो आफ्नो कुरा राख्न सक्दिनँ जस्तो लाग्थ्यो।'

    तर समयसँगै परिस्थिति बदलिँदै गयो। समितिमा रहँदा उनले महिला मञ्चमार्फत विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रमहरूमा सहभागी हुने अवसर पाइन्। ती तालिमहरूले उनको सोच, आत्मविश्वास र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याए। उनले बिस्तारै आफ्नो आवाज उठाउन सिकिन्, निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउन थालिन् र जिम्मेवारी सम्हाल्ने क्षमता विकास गरिन्।

    उनको सक्रियता, इमानदारी र कार्यकुशलताले समितिभित्र मात्र होइन, समुदायमै सकारात्मक छाप छोड्न थाल्यो। यही कारण दोस्रो कार्यकालमा उनी कोषाध्यक्ष पदमा निर्वाचित भइन्।

    विनिताले नेतृत्व सम्हालेपछि समितिको कार्यशैलीमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो। उनले व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउनेतर्फ विशेष ध्यान दिइन्।

    उनको दृष्टिकोण स्पष्ट थियो, खानेपानी सेवा सबैका लागि पहुँचयोग्य हुनुपर्छ, विशेषगरी विपन्न र सीमान्तकृत समुदायका लागि। कार्यालयमा बसेर निर्णय गर्ने होइन, समुदायमै पुगेर समस्या बुझ्ने र समाधान खोज्ने अभ्यास उनले स्थापित गरिन्।

    उनको अथक प्रयासका कारण करिब ६ महिनाभित्रै समितिले आफ्नो कार्यक्षेत्रका ९० प्रतिशत घरधुरीमा खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउने उल्लेखनीय उपलब्धि हासिल गर्‍यो। यस उपलब्धिले उनको नेतृत्वलाई सफल र प्रभावकारी बनाएको छ।

    नेपालको सन्दर्भमा महिलाहरू कुल जनसंख्याको करिब ५१ प्रतिशत छन्। स्थानीय तहमा उनीहरूको प्रतिनिधित्व बढ्दै गएको भए पनि निर्णय गर्ने प्रमुख पदहरूमा उनीहरूको पहुँच अझै सीमित छ।

    खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूमा महिलाको सदस्यता ३३ देखि ५० प्रतिशतसम्म पुगेको भए पनि अध्यक्ष, सचिव र कोषाध्यक्ष जस्ता पदहरूमा उनीहरूको सहभागिता करिब २०–२५ प्रतिशत मात्र छ।

    विडम्बना के छ भने, ग्रामीण क्षेत्रमा पानी संकलन गर्ने कामको ७०–८० प्रतिशत भार महिलामाथि पर्छ। यसले स्पष्ट देखाउँछ कि सेवा प्रयोग गर्ने र समस्या भोग्ने महिलाहरू नै निर्णय प्रक्रियाबाट बाहिर राखिएका छन्।

    यद्यपि, विनिताजस्ता उदाहरणहरूले देखाएका छन् कि अवसर र समर्थन पाए महिलाहरूले उत्कृष्ट नेतृत्व गर्न सक्छन् र समुदायमा ठोस परिणाम ल्याउन सक्छन्।

    यदि यस्ता अवसरहरू अझ विस्तार गरिए भने देशभरका समुदायहरूमा चन्द्रपुरजस्तै गुणात्मक सुधार ल्याउन सकिन्छ।

    भोलिका दिनहरूमा यस्ता महिलाहरूलाई अझ प्रोत्साहन र अवसर प्रदान गरिए मधेशको विकासमा नयाँ आयाम थपिने निश्चित छ। किनकि हरेक समुदायभित्र अझै धेरै 'विनिता' हरू छन् जसले अवसरको प्रतीक्षा गरिरहेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij