Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

समावेशी बोसिया खेलकुद प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न

समावेशी बोसिया खेलकुद प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न

आइतबार, जेठ १० २०८३
आइतबार, जेठ १० २०८३
  • काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघ (NBAD) को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी बोसिया खेलकुद प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, स्पाइनल बाइफिडा, सिभियर स्पाइनल कर्ड इन्जुरी तथा स्नायु सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई लक्षित गरी सामाखुसीस्थित पुष्प कुञ्ज माध्यामिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

    images
    87b256f5-82db-41cb-a180-ba1deb6f38a2.jpg

    काठमाडौं महानगरपालिका र रोटरी क्लब अफ जावलाखेलको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको उद्‌घाटन विद्यालयका प्रधानध्यापक, सहायक  प्रधानध्यापक लगायत तीन जना अतिथि र तीन जना खेलाडीहरूले संयुक्त रूपमा एक राउन्ड बोसिया खेल खेलेर गरे। प्रदर्शनी एवं प्रतियोगितात्मक यस खेलमा सहभागीहरूलाई उनीहरूको अपाङ्गताको गम्भीरताका आधारमा बोसिया खेलको अन्तर्राष्ट्रिय नियमअनुसार वर्गीकरण (क्याटगोरी) गरी समूह बनाएर प्रतिस्पर्धा गराइएको थियो। खेलमा सहभागी सम्पूर्ण खेलाडीहरूलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो।


    कार्यक्रमको समापन समारोह सञ्चालन संस्थाका महा सचिव महेश्वर घिमिरेले गरेका हुन्।  संस्थाका अध्यक्ष गोमा देवी पौडेलको अध्यक्षतामा समापन समारोह सम्पन्न भएकाे थियाे। समापन समारोहमा बोल्दै संस्थाकी वरिष्ठ सदस्य देव कुमारी पराजुलीले सम्पूर्ण अतिथि, खेलाडी तथा अभिभावकहरूलाई स्वागत गर्दै यो खेलले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक तथा मानसिक विकासमा पुर्‍याउने फाइदा र यसको महत्त्वबारे प्रकाश पारे।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले महानगरपालिकाले अपाङ्गताका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूलाई सहयोग गर्दै आएको र यस्ता कार्यक्रमबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए। अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया खेल अरू सामान्य खेलभन्दा भिन्न र विशेष रहेको उल्लेख गर्दै उनले यसको निरन्तरताका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।

    WhatsApp Image 2026-05-24 at 6.24.58 AM.jpeg
    त्यसैगरी, विशेष अतिथिका रूपमा (DSP Nepal) का प्रतिनिधि टेक बमले आफ्नै अपाङ्गता भएको सन्तानको अभिभावकत्वको अनुभव सुनाउँदै हौसला प्रदान गरे। 'अभिभावकले आफ्नो बच्चाको अवस्थालाई सहजै स्वीकार गरी उचित सहयोग र अवसर दिन सके उनीहरूले एक दिन अवश्य केही गरेर देखाउन सक्छन्,' बमले बताए।


    रोटरी क्लब अफ जावलाखेलकी अध्यक्ष शोभा लामिछानेले संस्थाले विगतमा पनि बोसिया खेलका लागि सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा समेत यो सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    WhatsApp Image 2026-05-24 at 6.24.46 AM (1).jpeg


    कार्यक्रमको समापन गर्दै संघकी अध्यक्ष गोमादेवी पौडेलले कार्यक्रम सफल पार्न आर्थिक तथा भौतिक सहयोग गर्ने काठमाडौं महानगरपालिका, रोटरी क्लब अफ जावलाखेल, पुष्प कुञ्ज विद्यालय व्यवस्थापन, संस्थाका पदाधिकारी, खेलाडी तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरिन। उनले आफ्ना कार्यगत अनुभवहरू साट्दै आगामी दिनमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको बताइन।

    कार्यक्रममा रोटरी क्लब अफ जावलाखेलका भूतपूर्व अध्यक्ष विज्ञान अर्याल, रोटरी क्लबका वाणिक अधिकारी, पुष्प कुञ्ज माध्यमिक विद्यालयका प्रिन्सिपल एक बहादुर आले तथा सहायक प्रिन्सिपल ऐश्वर्य श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

    WhatsApp Image 2026-05-23 at 8.17.33 PM.jpeg

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij