काठमाडौं। आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक हुने तयारीमा रहँदा आम नागरिक र निजी क्षेत्रमा यसप्रति ठुलो चासो र अपेक्षा बढेको छ। राष्ट्रको नयाँ बजेट आउनै लाग्दा यसले आफ्ना दैनिक समस्याहरूलाई कसरी सम्बोधन गर्ला भन्ने कौतुहलता सर्वसाधारणमा देखिन्छ। हरेक वर्ष सिंहदरबारबाट घोषणा हुने ठुला योजनाले भुइँमान्छेका वास्तविक मुद्दा छुन नसकेको गुनासो भइरहेका बेला, यसपटकको बजेटप्रति जनताले कस्तो दृष्टिकोण राखिरहेका छन् त?
बजेटले सधैँ ठुला पुँजीपति र कर्पोरेट क्षेत्रलाई मात्र प्राथमिकता दिने गरेको साना व्यवसायीहरूको गुनासो छ। सरकारले सानो लगानी गरेर बस्ने निम्न तथा मध्यम वर्गीय व्यवसायीहरूलाई यसपटक समेट्नुपर्ने उनीहरूको मुख्य माग छ।
एक स्थानीय व्यवसायी भन्छन्, 'बजेट सधैँ पहुँचवालाका लागि मात्र आउँछ। यसपटक जनताकै हितमा आओस्। हामी जस्ता साना व्यवसायीलाई कम ब्याजमा सहजै ऋण चाहिन्छ। बैंकिङ झमेला नभए लगानी बढाउन र व्यवसाय सुधार्न सजिलो हुने थियो। यो बजेट जनमुखी बनोस् र सबैले राहतको सास फेर्न पाऊन्।'
बेरोजगारीको विकराल समस्याका कारण दैनिक हजारौँ युवाहरू विदेशिन बाध्य छन्। यो लहरलाई रोक्नका लागि बजेटले ठोस र व्यावहारिक योजना ल्याउनुपर्ने आवाज चौतर्फी रूपमा उठेको छ। युवाहरू स्वदेशमै रोजगारी र पिछडिएका क्षेत्रमा पूर्वाधार विकास चाहन्छन्।
रोजगारीको खोजीमा रहेका एक युवा भन्छन्, 'अहिले युवाहरू काम नपाएर भौँतारिएका छन्। बजेटले स्वदेशमै काम गर्ने वातावरण र सहुलियत ऋणको व्यवस्था गरोस्। विपन्न वर्गलाई सानो व्यवसाय सुरु गर्न आर्थिक सहयोग चाहिन्छ। ग्रामीण क्षेत्रहरूमा विकासका काम अघि बढ्नुपर्छ।'
विपन्न र श्रमजीवी वर्गले भने नयाँ बजेटसँग आफ्नो बाँच्न पाउने अधिकार र स्वास्थ्य उपचारको ग्यारेन्टी खोजेका छन्। उनीहरू तलब र सामाजिक सुरक्षा भत्ता वृद्धिको चर्चासँगै बजारको महँगी नियन्त्रण हुनुपर्ने पक्षमा दृढ देखिन्छन्।
एक सर्वसाधारण नागरिक भन्छन्, 'बजेट धनीलाई पोस्ने खालको हुनु हुँदैन। गरिबले गरिखान पाउने गरी आओस्। तलब र भत्ता बढ्ने कुरा राम्रो हो। तर, त्योभन्दा मुख्य कुरा गरिब र रोगीले सहज उपचार पाउनु हो। देशमा शान्ति र आर्थिक सुधार होस्।'
अर्का एक श्रमजीवी नागरिक पनि बजेटप्रति आशावादी बन्दै थप्छन्, 'हामीलाई धेरै केही चाहिँदैन। दुःख गरेर आफ्नो पसिनाको मूल्य पाए पुग्छ। नयाँ बजेट राम्रो आउला र हामी गरिबका दिन फिर्लान् भन्ने आशा छ।'
नागरिकका यी प्रतिनिधि आवाजहरूले आम जनताको आवश्यकतालाई प्रष्ट पार्छन्। उनीहरूलाई कुनै ठुला वा 'पपुलिस्ट' योजना चाहिएको छैन। सहज वित्तीय पहुँच, स्वदेशमै रोजगारी र सस्तो स्वास्थ्य उपचार नै उनीहरूको मुख्य माग हो। आगामी बजेटले जनताको यो भावना र भरोसालाई कत्तिको समेट्छ, त्यो भने हेर्न बाँकी नै छ।


