काठमाडौं। टोखा नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा हुने विवाद निरूपण प्रक्रियालाई थप प्रभावकारी, सर्वसुलभ र विश्वसनीय बनाउने उद्देश्यका साथ नगरपालिकाले उक्त तालिमको आयोजना गरेको हो।

उक्त तालिममा अवधिभर सहभागी मेलमिलापकर्ताहरूबीच कानुनी प्रावधान, व्यावहारिक ज्ञान तथा कार्यक्षेत्रका अनुभवहरू आदानप्रदान गरिएको थियो। यस किसिमको पुनर्ताजगी कार्यक्रमले मेलमिलापकर्ताहरूको सीप, आत्मविश्वास र कार्यक्षमतालाई थप सुदृढ बनाउँदै स्थानीय विवादहरूलाई समुदायस्तरमै सौहार्दपूर्ण रूपमा समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
विशेष समारोहका बीच सञ्चालित उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख, स्थानीय जनप्रतिनिधि तथा कानुन र न्याय क्षेत्रका विभिन्न बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समाजमा शान्ति, अमनचयन र आपसी सद्भाव कायम राख्न मेलमिलापकर्ताहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गरे। अदालतसम्म पुग्नुअघि नै स्थानीय स्तरका विवादहरू सल्ट्याउँदा सर्वसाधारणको समय र खर्च दुवै बचत हुने धारणा उनीहरूले व्यक्त गरे।

कार्यक्रममा मेलमिलापकर्ताहरूका अतिरिक्त करिब ४० जना स्थानीय सर्वसाधारणको समेत सक्रिय सहभागिता रहेको थियो। आम नागरिकको उपस्थितिले समुदायमा मेलमिलापको महत्त्व, यसको कानुनी मान्यता र आवश्यकताका बारेमा व्यापक सचेतना फैलाउन मद्दत पुगेको आयोजकले जनाएको छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकासका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय न्यायिक समितिलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



