काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिबारे प्रतिनिधिसभामै उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संसद्मा जवाफ दिनुपर्ने बताएका हुन्। बैठकको प्रारम्भमा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई धारणा राख्न समय दिएका थिए।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले संसद्मा स्पष्ट पार्नुपर्ने विषय पार्टीको महाधिवेशनमा उठाउनु संसद्को गरिमाविपरीत भएको बताउँदै प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे सदनमै जवाफ दिनुपर्ने माग गरिन्।
एमालेका सांसद डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति स्पष्ट पार्नुपर्ने बताए। उनले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोपसमेत लगाए।
नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सरकारका प्रयास प्रभावकारी हुनुपर्नेमा जोड दिँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने प्रस्तावप्रति असहमति जनाए।
यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरे।


