काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेका सकारात्मक कामको समर्थन गर्ने तर जनतासँग जोडिएका समस्या समाधानमा थप प्रभावकारी बन्न सरकारलाई खबरदारी गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको १०० दिने कार्यकालमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह तथा केही संरचनागत सुधारका क्षेत्रमा देखिएको सक्रियतालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सरकारले गरेका राम्रो र सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् ।आङ्देम्बेले सरकार सफल हुँदा त्यसको प्रत्यक्ष लाभ नेपाली जनता र मुलुकले नै प्राप्त गर्ने बताएका छन्।
आङ्देम्बेले लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको मूल्याङ्कन घोषणाबाट नभई नागरिकले अनुभूत गर्ने सेवा, संविधानप्रतिको सम्मान, संसद्प्रतिको उत्तरदायित्व तथा सार्वजनिक संस्थाप्रतिको विश्वासका आधारमा हुने उल्लेख गरेका थिए। लोकतन्त्रमा सरकारलाई प्रश्न गर्नु विरोध नभई उत्तरदायित्वको अभ्यास भएको उनको भनाइ रहेको छ।
उनले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई सर्वपक्षीय सहमतिका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। संसद्भित्रका सबै राजनीतिक दल, संसद् बाहिर रहेका शक्तिहरू, संवैधानिक कानुनका विज्ञ तथा सरोकारवालाबीच व्यापक संवाद गरेर मात्र संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएका छन्। राष्ट्रिय सहमतिका लागि सरकारले पहल गरे कांग्रेसले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
भूमिहीन सुकुम्बासीको समस्या वर्षौंदेखि समाधान हुन नसकेको उल्लेख गर्दै उनले यसको दिगो समाधानका लागि सरकारले स्पष्ट योजना अघि सार्नुपर्ने बताएका छन्।
भाषणका क्रममा उनले मानव र वन्यजन्तुबिच द्वन्द्वको बढ्दो समस्या पनि उठाएका थिए। एउटै हात्तीको आक्रमणबाट २५ जनाले ज्यान गुमाएको तथा एउटै परिवारका चार सदस्यको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले राहत वितरणमा मात्र सीमित नभई दीर्घकालीन समाधानमा केन्द्रित नीति ल्याउन सरकारसँग माग गरेका छन्।
जङ्गली जनावरबाट नागरिकको ज्यान र खेतीपाती जोगाउन प्रभावकारी उद्धार संयन्त्र, शीघ्र हस्तक्षेप प्रणाली तथा दीर्घकालीन सुरक्षा नीति तत्काल कार्यान्वयन गर्नुपर्नेमा आङ्देम्बेले जोड दिएका छन्।


