काठमाडौं। राजधानीको प्रमुख स्वास्थ्य संस्था टेकु अस्पताल अगाडिको सडक निर्माण कार्य अत्यन्तै अव्यवस्थित हुँदा सर्वसाधारण, बिरामी, स्वास्थ्यकर्मी तथा चालकहरू दैनिक सास्ती भोग्न बाध्य भएका छन्।

तस्बिरमा देखिएझैँ सडक हिलो, पानी जमेको र खाल्डाखुल्डीले भरिएको छ। सडकमा मोटरसाइकल, एम्बुलेन्स तथा अन्य सवारीसाधन सञ्चालन गर्न कठिन भइरहेको छ भने पैदल यात्रुहरू पनि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
स्थानीयका अनुसार यस सडकबाट दैनिक ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्छन् भने हजारौं बिरामी, बिरामीका आफन्त तथा स्वास्थ्यकर्मी यही बाटो प्रयोग गर्छन्। तर निर्माण कार्य सुस्त हुँदा अस्पताल पुग्ने बिरामीदेखि औषधि लिन आउने सेवाग्राहीसम्म सबैले सास्ती खेपिरहेका छन्।

विशेषगरी वर्षायाममा सडक हिलाम्मे बनेपछि दुर्घटनाको जोखिम बढेको छ। बिरामी बोकेका एम्बुलेन्ससमेत सहज रूपमा सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले सम्बन्धित निकायलाई निर्माण कार्यलाई तीव्रता दिई अस्पतालजस्तो संवेदनशील क्षेत्रको सडक तत्काल व्यवस्थित बनाउन आग्रह गरेका छन्। उनीहरूको भनाइमा अस्पताल अगाडिको सडक लामो समयसम्म यस्तो अवस्थामा रहनु नागरिकको स्वास्थ्य र सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो।


