काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्ला तीन अनुगमनमा पाँच खाद्य उद्योग तथा व्यवसायमा खाद्य स्वच्छता र गुणस्तरसँग सम्बन्धित विभिन्न कमजोरी फेला पारेपछि आवश्यक कारबाही गरेको छ।
विभागले उजुरीका आधारमा तथा काठमाडौं महानगरपालिकासँगको संयुक्त अनुगमनका क्रममा क्षतिग्रस्त जार नष्ट गर्नुका साथै म्याद गुज्रिएका खाद्य सामग्री, मापदण्डविपरीतको खाना पकाउने तेल र अनुचित रूपमा प्रयोग गरिएको कृत्रिम खाद्य रङसमेत नष्ट गरेको जनाएको छ।

असार १७ र १९ गते उजुरीका आधारमा गरिएको अनुगमनमा टोखा–८ स्थित एन.एस. ग्रुप इन्डष्ट्रिज प्रालिमा सरसफाइ सन्तोषजनक नभएको, बजार पठाउन तयारी अवस्थामा रहेका फुटेका, टुटेका र कुच्चिएका जार फेला परेको विभागले जनाएको छ। अनुगमन टोलीले ४४ वटा क्षतिग्रस्त जार नष्ट गरेको छ। साथै प्रशोधन कक्षको जीर्ण टायल पाँच दिनभित्र मर्मत गर्न निर्देशन दिँदै प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ।

सोही क्रममा काठमाडौंको बसुन्धारास्थित अधिकारी तेल मिलमा खाद्य पदार्थ पानीसँगै राखिएको, प्रशोधन र भण्डारण कक्ष छुट्टाछुट्टै नरहेको तथा पूर्ण लेबल विवरण नभएका खाद्य सामग्री भेटिएको विभागले जनाएको छ। विभागले उद्योगलाई सरसफाइमा सुधार गर्न निर्देशन दिँदै लेबल विवरण नखुलेको एक लिटर नरिवल तेल र पाँच केजी काजु, बदाम तथा फर्सीको बिया आपूर्तिकर्तालाई फिर्ता गर्न लगाएको छ।
यस्तै असार २२ गते चन्द्रागिरि–८ स्थित रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रालिमा गरिएको अनुगमनमा कुच्चिएका जार प्रयोग भएको र प्रशोधन कक्ष अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। सात वटा पुराना तथा कुच्चिएका जार नष्ट गर्नुका साथै प्रयोगशाला परीक्षणका लागि पानीको नमुना संकलन गरिएको छ। विभागका अनुसार उजुरीमा उल्लेख गरिएजस्तो लेउ लागेको वा ब्याच नम्बर नभएको जारको पानी भने अनुगमनका क्रममा फेला परेन।
त्यसपछि असार २३ गते विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ रेस्टुरेन्ट र चण्डोलस्थित ‘एक्सप्रेस इट्स’ प्रालिमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुवै व्यवसायमा कृत्रिम खाद्य रङको अनुचित प्रयोग भएको पाइएको विभागले जनाएको छ।

द ब्ल्याक गोल्डमा म्याद गुज्रिएका खाद्य रङ र लेमन साल्ट नष्ट गरिएको छ भने एक्सप्रेस इट्समा म्याद सकिएको चाउमिन र टीपीएम (TPM) मापदण्डविपरीत रहेको करिब दुई लिटर खाना पकाउने तेल नष्ट गरिएको विभागले जनाएको छ। दुवै व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न, पूर्ण लेबल विवरण भएका प्रशोधित खाद्य पदार्थ मात्र प्रयोग गर्न तथा कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिइएको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया काठमाडौं महानगरपालिकाले अघि बढाउने विभागले जनाएको छ।



