Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

चिया चिनाउँदै घ्याङ्स्वारा

चिया चिनाउँदै घ्याङ्स्वारा

शुक्रबार, साउन १ २०८३
शुक्रबार, साउन १ २०८३
  • नुवाकोट । केही वर्षअघिसम्म झाडीले ढाकिएको नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ स्थित  घ्याङ्स्वारा अहिले हराभरा अर्थोडक्स चिया बगानका कारण नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। उत्पादन, पर्यटन र रोजगारीलाई एउटै योजनामा जोड्ने गाउँपालिकाको प्रयासले यो क्षेत्रलाई नयाँ पहिचान दिलाइरहेको छ।

    images

    समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको  घ्याङ्स्वारामा अहिले ३२८ रोपनी क्षेत्रफलमा हजारौँ अर्थोडक्स चियाका बिरुवा हुर्किरहेका छन्। इलामको अध्ययन भ्रमणपछि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको छ भने गाउँपालिकाले आगामी दिनमा यसको दायरा अझ विस्तार गर्ने तयारी गरेको छ।

    गाउँपालिकाको लक्ष्य चिया उत्पादनमा मात्र सीमित छैन । घ्याङ्स्वारालाई सहिद स्मारक पर्यटकीय पार्कका रूपमा विकास गर्दै चिया बगान, प्राकृतिक दृश्य, खेल मैदान, सेल्फी प्वाइन्ट, मन्दिर तथा स्थानीय संस्कृतिलाई एकै स्थानमा अनुभव गर्न सकिने गन्तव्य बनाउने योजना अघि बढाइएको छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

    चिया खेतीलाई पूर्ण रूपमा जैविक बनाउने प्रयास भइरहेको छ। रासायनिक विषादीको प्रयोग नगरी प्राकृतिक विधिबाट खेती गरिएकाले गुणस्तरीय उत्पादनमा विशेष जोड दिइएको छ। गाउँपालिकाले आफ्नै चिया नर्सरी स्थापना गरेर किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउने र निजी खेती विस्तार गर्ने योजना पनि अघि बढाएको छ।

    स्थानीयका अनुसार घ्याङ्स्वारामा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। पिकनिक, क्याम्पिङ, होमस्टे, स्थानीय परिकार र जैविक चियाले यहाँ पुग्ने पर्यटकलाई फरक अनुभव दिने गरेको छ। पर्यटकको बढ्दो चहलपहलसँगै स्थानीय युवाका लागि रोजगारीका अवसर पनि सिर्जना भएका छन्।

    गाउँपालिकाले आगामी दिनमा चियाका बिरुवा एक लाख पुर्‍याएर आफ्नै चिया उद्योग सञ्चालन गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। कानुनी प्रक्रिया मिलेसँगै स्थानीय सहकारी वा समूहसँग सहकार्य गरी ब्रान्डिङ र बजारीकरण गर्ने तयारी समेत भइरहेको जनाइएको छ।

    काठमाडौँबाट करिब ३६ किलोमिटर दूरीमा रहेको  घ्याङ्स्वारा करिब दुई घण्टाको यात्रामा पुग्न सकिन्छ। हरियाली चिया बगान, शीतल हावा, स्थानीय संस्कृति र विकासको फरक अभ्यास हेर्न चाहनेका लागि घ्याङ्सवारा अहिले अवलोकन गर्नैपर्ने नयाँ गन्तव्य बन्दै गएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij