काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न संवेदनशील अवस्था समाधानका लागि सरकार योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
उनले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रहरू उच्च सतर्कतामा रहेको उल्लेख गर्दै नागरिकलाई अफवाहमा नपरी संयमित रहन आग्रह गरेका छन्। साथै, नागरिकको सुरक्षाको प्रत्याभूति र घटनाको निष्पक्ष छानबिनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
यसैबीच, प्रधानमन्त्रीसँगको छलफलमा सहभागी सांसदहरूले स्थानीय स्तरमा दीर्घकालीन शान्ति, धार्मिक सद्भाव र भ्रातृत्व कायम राख्न दुवै पक्षका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सघन संवादको शृङ्खला निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरूले तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्न तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन्।


