काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि फागुन १३ गते सिंगापुर गएका देउवा त्यसपछि हङकङ पुगेका थिए। हङकङमा थप उपचार तथा चिकित्सकीय परामर्श लिएपछि उनी नेपाल फर्किएका हुन्।
देउवा स्वदेश फर्किएको दिन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको थियो। बैठक सुरु गर्ने क्रममा सभापति गगन थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका थिए।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले बैठकको सुरुवातमै निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई स्वास्थ्यलाभको कामनासहित नेपालमा स्वागत गरेका थिए।
गत फागुनमा उपचारका लागि सिंगापुर पुगेका देउवाले त्यहाँ उपचार तथा स्वास्थ्य परीक्षण गराएका थिए। त्यसपछि उनी थप उपचार र चिकित्सकीय परामर्शका लागि हङकङ पुगेका थिए। उनको लामो विदेश बसाइका क्रममा उनीमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि चर्चामा रह्यो। देउवा दम्पतीले भने आफूहरू उपचारका लागि विदेशमा रहेको र अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका थिए।
यसअघि पनि देउवा उपचारकै सिलसिलामा सिंगापुर पुगेका थिए। गत कात्तिकमा करिब तीन साता सिंगापुर बसेर नेपाल फर्किएका उनी फागुनमा पुनः सिंगापुर गएका हुन्। यसपटक भने सिंगापुरबाट हङकङ पुगेपछि उनको विदेश बसाइ करिब पाँच महिनासम्म लम्बिएको हो।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। त्यसपछि उपचारका लागि उनीहरू विदेश गएका थिए। लामो समय विदेश बसेपछि देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र र बाहिर चासोका साथ हेरिएको छ।
देउवा स्वदेश फर्किएसँगै उनीमाथि भइरहेको अनुसन्धान, पार्टीभित्रको नयाँ नेतृत्वसँगको सम्बन्ध तथा आगामी राजनीतिक भूमिकाबारे पनि चासो बढेको छ।


