Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

गाउँमा केही भइहाल्यो भने...

गाउँमा केही भइहाल्यो भने...

बिहीबार , साउन २८ २०८३
बिहीबार , साउन २८ २०८३
  • गोरखा । गाउँको बाटो उस्तै छ, खेतका गराहरू पनि उस्तै छन्। तर ती खेतमा काम गर्ने हातहरू भने विस्तारै हराउँदै गएका छन्। कुनै समय परिवारका धेरै सदस्य मिलेर खेतीपाती गर्ने गाउँमा अहिले वृद्धवृद्धा मात्रै बाँकी छन्। युवाहरू रोजगारी र अवसरको खोजीमा सहर तथा विदेशतिर लागेपछि गाउँको जीवनशैलीसँगै सामाजिक संरचना पनि बदलिँदै गएको छ।

    images

    यस्तै गाउँको बदलिँदो तस्वीरमा भेटिन्छन् ७८ वर्षीय पदम प्रसाद पाण्डे। डोटीबाट पुस्तौँअघि बसाइँ सरेर आएको उनको परिवारले लामो समयदेखि खेतीकिसानीलाई नै जीवनको आधार बनायो। आठ कक्षासम्म पढेका पाण्डेले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। खेतबारी, गाईभैँसी र बाख्रासँगै उनको जीवन अघि बढ्यो।

    युवावस्थामा उनी कमाउन भारतको दिल्ली पुगे। करिब पाँच वर्ष एउटा कारखानामा काम गरे। फर्किएपछि विवाह गरे र फेरि गाउँकै खेतीमा फर्किए। त्यसपछि भने बाहिर जानेभन्दा आफ्नै खेतबारीमा टिकेर जीवन बिताउने बाटो रोजे।

    कुनै समय उनको घरमा २२–२४ वटा बाख्रा, १५–१८ वटा गाई र केही भैँसीसम्म हुन्थे। घरको उत्पादन घरमै खपत हुन्थ्यो, छिमेकीसँग पैँचो चल्थ्यो। दूध बढी भए अर्को घरमा पुग्थ्यो, अन्नबाली पनि त्यही सामुदायिक सम्बन्धमा बाँडिन्थ्यो।

    तर अहिले त्यो जीवन सम्झनामा सीमित हुँदै गएको छ।

    उमेर बढ्दै गएपछि पाण्डेले खेती गर्न सक्ने जमिन घटाउँदै लगे। एक समय दुई–तीन हलसम्म खेती हुने खेत अहिले धेरैजसो बाँझो छन्। शरीरले साथ दिन छाडेपछि अहिले एक हलजति जमिनमा मात्र मकै लगाउने गरेको उनी बताउँछन्।

    परिवर्तन खेतमै मात्र देखिँदैन। पहिले गोरुले जोतिने खेत अहिले ट्र्याक्टरले जोतिन्छन्। गाईभैँसी पाल्ने घरहरू घटेका छन्। गाउँमा गोरु पाल्ने मानिस भेटिन छाडेका छन्। पाण्डेका लागि यो केवल खेती गर्ने प्रविधिमा आएको परिवर्तन होइन, गाउँको पुरानो जीवनशैली हराउँदै गएको संकेत पनि हो।

    ‘पहिलेको राम्रो, अहिलेको काम छैन,’ उनी पुरानो खेती सम्झँदै भन्छन्।

    उनका लागि ‘पहिले’ केवल पुरानो समय होइन, परिवार र समुदायसँग जोडिएको एउटा संसार हो। बाआमा, दाजुभाइ र परिवारका सदस्यहरू एउटै ठाउँमा हुँदा घर भरिभराउ हुन्थ्यो। त्यही समयलाई उनी आफ्नो जीवनको सबैभन्दा खुसीको समयका रूपमा सम्झिन्छन्।

    समयसँगै परिवार छुट्टियो। दाजुभाइ अलग भए। सन्तानहरू पनि आफ्नै बाटो लागे। अहिले उनी र उनकी श्रीमतीजस्ता वृद्धवृद्धाका लागि गाउँमा एक्लोपन ठूलो चुनौती बनेको छ।

    ‘एक्लै दुक्लै बस्न नि गाह्रो भइसक्यो,’ उनी भन्छन्।

    गाउँमा कुनै घटना आइपरे तत्काल सहयोग गर्ने मानिस नहुने अवस्था उनलाई सबैभन्दा बढी खट्किन्छ। वरपरका घरमा पनि वृद्धवृद्धा मात्रै छन्। युवाहरू बाहिर छन्। रातको समयमा समस्या परे झन् कठिन हुने उनको अनुभव छ।

    पाण्डे गाउँबाट युवाहरू बाहिरिनुलाई केवल रोजगारीको बाध्यताका रूपमा मात्र हेर्दैनन्। उनको बुझाइमा यो विस्तारै बनेको एउटा सामाजिक ‘लहर’ पनि हो। एउटाले बाहिर जाने, त्यसपछि अर्कोले पनि त्यही बाटो पछ्याउने। अन्ततः गाउँका अधिकांश युवा बाहिरिने र गाउँमा वृद्धवृद्धा मात्र बाँकी रहने अवस्था आएको उनी बताउँछन्।

    तर उनीसँग गाउँमै बसेर काम गर्न सकिने विश्वास पनि छ। उनका अनुसार पहिले थोरै जमिन र सीमित स्रोतबाटै परिवार पालिन्थ्यो। अहिले भने खेतीमा श्रम घट्नु, उत्पादन कम हुनु र त्यसको मूल्य नपाउनुजस्ता कारणले गाउँको कृषि कमजोर बनेको छ।

    उनले आफ्नै खेतमा आएको परिवर्तनलाई,‘पहिले एउटै गराबाट धेरै अन्न उत्पादन हुन्थ्यो, अहिले त्यही जमिन घाँस र झाडीले ढाकिन थालेको छ’ सम्झन्छन् ।

    त्यसैले उनको चिन्ता केवल गाउँ रित्तिँदै गएकोमा छैन बरु गाउँसँगै एउटा जीवनपद्धति पनि हराउँदै गएकोमा छ।

    उनको आफ्नै जीवनमा पनि अभाव र दुःख कम थिएन। तर परिवारका सबै सदस्य वरिपरि हुँदा दुःख पनि बाँडिन्थ्यो। अहिले सुविधा केही बढे पनि साथ दिने मानिस घटेका छन्। उनको अनुभवमा, एक्लोपनले मानिसलाई आर्थिक अभावभन्दा पनि गहिरो गरी कमजोर बनाउँछ।

    अब उनीसँग दुईवटा पाठा छन्। गाईभैँसी पाल्ने सामर्थ्य छैन। घाँस काट्न सक्दैनन्। भैँसी बेचिसकेपछि दूधसमेत किनेर खानुपर्छ। जीवनको ठूलो हिस्सा खेतीमा बिताएका पाण्डे अहिले आफ्नै उत्पादनभन्दा बजारमा निर्भर हुँदै गएका छन्।

    यही परिवर्तनले उनलाई युवाहरूप्रति एउटा आग्रह गर्न बाध्य बनाउँछ।

    ‘बाहिर बसेर काम छैन,’ उनी भन्छन्। उनका लागि विदेश जानु वा सहर पस्नु मात्र समस्या होइन । समस्या त्यतिबेला हुन्छ, जब घरमा रहेका बुढा आमाबुवालाई बिर्सिइन्छ। उनी बिरामी हुँदा सन्तान टाढा हुने र अन्तिम अवस्थामा मात्र घर फर्किने अवस्था नआओस् भन्ने उनको चिन्ता छ।

    गाउँबाट युवा बाहिरिनु नयाँ कुरा होइन। रोजगारी, शिक्षा र अवसरको खोजीमा मानिसहरू सहर तथा विदेश जाने क्रम स्वाभाविक पनि हो। तर त्यसको अर्को पाटो पनि छ । उनीहरू गएपछि गाउँमा बाँकी रहने मानिसहरूको जीवन कस्तो हुन्छ?

    पाण्डे यही प्रश्नको एउटा जीवित उत्तर हुन्।

    खेती गर्न नसक्ने हुँदै गएको शरीर, बाँझिँदै गएको खेत र सुनसान हुँदै गएको गाउँबीच उनी एउटा पुस्ताको प्रतिनिधि बनेर उभिएका छन् । जसले गाउँ छोडेनन्, तर गाउँलाई भने विस्तारै आफ्ना मानिसहरूले छोड्दै गएको देखिरहेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij