बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अविरल वर्षासँगै आएको पहिरोमा परी २२ वर्षीया प्रतीक्षा थापाको मृत्यु भएको हो।

घटनामा ३१ वर्षीय धर्म थापा र धौली रावल घाइते भएका छन्। घाइतेमध्ये रावलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। दुवै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।
टाउकोमा चोट लागेकी रावललाई थप उपचारका लागि सिटी स्क्यान गर्न धनगढी पठाउने तयारी भइरहेको छ।
पहिरोका कारण घटनास्थल आसपासका अन्य घरसमेत उच्च जोखिममा परेका छन्। माथिबाट आएको पहिरोले माथिल्लो बस्ती जोगाउन लगाइएको ग्याबिन तारसमेत बगाएर तल रहेको घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। मृत्यु भएकी प्रतीक्षा थापाको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याउने प्रक्रिया भइरहेको छ।
घटनास्थल आसपासको बस्ती पहिरोको उच्च जोखिममा रहेकाले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रशासनले जोखिम क्षेत्रमा रहेका नागरिकको दीर्घकालीन स्थानान्तरणका लागि गृहकार्य गरिरहेको जनाइएको छ।
बाजुरामा पछिल्लो वर्षाका कारण विभिन्न स्थानमा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।


