काठमाडौं । सामाजिक सञ्जालको तीव्र विस्तारसँगै सूचना र समाचारबीचको फरक क्रमशः धमिलो हुँदै गएको छ। एउटा घटना भयो, कसैले फेसबुकमा लेख्यो, भिडियो बन्यो र केही समयमै त्यो सामग्री हजारौँ मानिससम्म पुग्यो भने त्यसलाई समाचार ठान्ने प्रवृत्ति बढेको छ। यही प्रवृत्तिले पत्रकारिताको भूमिकामाथि नै प्रश्न उठाइरहेको छ।
पत्रकारिताको काम सूचना जम्मा गरेर जनतामाझ पुर्याउनु मात्रै होइन। पत्रकारिताले कुन सूचना सार्वजनिक महत्वको हो, कुन विषयले नागरिकको जीवनमा अर्थ राख्छ र कुन विषयले समाजलाई सुसूचित बनाउँछ भन्ने छुट्याउनुपर्ने हुन्छ। त्यसैले समाचारको मूल्य त्यसको ‘भाइरल’ हुने क्षमताले होइन, सार्वजनिक हितमा त्यसको अर्थ कति छ भन्ने कुराले निर्धारण गर्नुपर्ने धारणा छ।
पत्रकारले सामाजिक सञ्जालमा देखिने सबै कुरा समाचार हो कि होइन भनेर प्रश्न गर्दा उनले आफ्नो बुझाइ सच्याउनुपर्ने अवस्था आयो। यो एउटा व्यक्तिको गलत बुझाइ मात्र होइन, समाजमा पत्रकारिताप्रतिको धारणा कता पुगेको छ भन्ने संकेत पनि हो।
समस्या पाठकमात्रमा छैन। मिडियाले पनि सूचना र समाचारको सीमारेखा कमजोर बनाएका छन्। दर्शक र क्लिकको प्रतिस्पर्धामा नकारात्मक, उत्तेजक र व्यक्तिगत विषयले प्राथमिकता पाउने प्रवृत्ति बढेको छ।
सार्वजनिक चासोभन्दा सञ्चारगृह वा व्यक्तिको स्वार्थले समाचारको कोण निर्धारण गर्न थाले पत्रकारिता जनताको आवाजभन्दा प्रभावशाली समूहको औजार बन्न सक्छ।यही कारण पत्रकारितामा ‘के भयो’ भन्दा ‘किन भयो’, ‘यसको असर के हो’ र ‘अब के गर्न सकिन्छ’ भन्ने प्रश्न महत्वपूर्ण बन्दै गएको छ।
दुर्घटना भयो भन्ने सूचना सामाजिक सञ्जालले क्षणभरमै दिन सक्छ। तर दुर्घटना किन भयो, त्यसलाई रोक्न राज्यले के गर्नुपर्छ र त्यसबाट नागरिकले के सिक्न सक्छन् भन्ने खोजी पत्रकारिताको जिम्मेवारी हो।
यसका लागि मिडियाले आफ्नै शैली परिवर्तन गर्नुपर्ने देखिन्छ। पत्रकारिताको स्वतन्त्रता आवश्यक छ, तर स्वतन्त्रता स्वच्छन्दता होइन।
समाचार लेख्ने अधिकारसँगै त्यसको प्रभावप्रति उत्तरदायित्व पनि जोडिन्छ। व्यक्तिगत गोपनीयता, चरित्र, संवेदनशील घटना र कमजोर अवस्थामा रहेका मानिसका विषयमा पत्रकारले थप विवेक प्रयोग गर्नुपर्छ।
त्यससँगै नागरिकलाई पनि मिडिया के हो, समाचार के हो र सामाजिक सञ्जालमा आएको सूचना कसरी बुझ्ने भन्नेबारे मिडिया साक्षरता आवश्यक छ। जिम्मेवार पत्रकारिता र सचेत पाठक एकअर्काका पूरक हुन्।
सूचना धेरै भएको समयमा पत्रकारिताको मूल्य सूचना थप्नुमा होइन, त्यसमध्ये समाजका लागि अर्थपूर्ण कुरा छुट्याएर त्यसको गहिराइ देखाउनुमा छ।
कुनै सूचना धेरै मानिससम्म पुग्यो भन्दैमा त्यो समाचार बन्छ? कसैको निजी जीवनसँग सम्बन्धित विषय सार्वजनिक भयो भन्दैमा त्यसलाई सार्वजनिक गर्ने अधिकार पत्रकारलाई हुन्छ? नेपाली पत्रकारितामा यी प्रश्न अहिले गम्भीर रूपमा उठेका छन्।
यही प्रश्नको वरिपरि रहेर आज हामी पत्रकार जन्मदेव जैसीसँग कुराकानी गर्दैछौँ। पछिल्लो समय पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाले प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता, वैयक्तिक गोपनीयता र राज्यको अनुसन्धान प्रक्रियालाई लिएर बहस चर्किएको छ।


