काठमाडौं। भारतबाट हुने कुखुरा तथा चल्लाको गैरकानुनी आयात रोक्न र स्वदेशी पोल्ट्री उत्पादनको उचित बजार मूल्य सुनिश्चित गर्न माग गर्दै देशभरका कुखुरापालक किसानहरू काठमाडौँको माइतीघरमा आन्दोलनमा उत्रिएका छन्।
सोमबार माइतीघर मण्डलमा भेला भएका किसानहरूले कृषि, वन तथा वातावरण मन्त्रालयलाई १२ बुँदे मागपत्र बुझाउँदै आफ्ना समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
आन्दोलनकारी किसानहरूले बिचौलियाको एकाधिकार अन्त्य हुनुपर्ने र लगानी, जोखिम तथा उत्पादन लागतका आधारमा कुखुराको न्यूनतम समर्थन मूल्य तोकिने अधिकार किसानलाई नै दिइनुपर्ने माग राखेका छन्।
सीमापारबाट सङ्गठित रूपमा भइरहेको अवैध तस्करीका कारण स्थानीय बजार धरापमा परेको भन्दै उनीहरूले ह्याचरी सङ्घले तोकेको भन्दा बढी मूल्यमा चल्ला किन्नुपर्ने बाध्यताको अन्त्य र बजारमा पारदर्शी सूचना प्रणाली लागू गर्न माग गरेका छन्।
यसका साथै तौलमा हुने अनियमितता र बिचौलियाले गर्ने मनपरी कटौती रोक्न कडा अनुगमनको व्यवस्था हुनुपर्नेमा किसानले जोड दिएका छन्।
उत्पादन बढी भएका बेला सरकारी वा सहकारीमार्फत प्रत्येक प्रदेशमा भण्डारण केन्द्र स्थापना गर्न, रोग नियन्त्रणका लागि क्षेत्रीय प्रयोगशाला बनाउन र किसानका समस्या समाधानका लागि छुट्टै अधिकारसम्पन्न आयोग वा संयन्त्र गठन गर्नसमेत व्यवसायीहरूले सरकारसँग जोडदार माग गरेका हुन्।


