काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइएको बताएका छन्। बिहीबार बिहानदेखि उद्धारका लागि १५ भन्दा बढी उडान सम्पन्न भइसकेको र थप हेलिकोप्टर तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय नागरिक रहेका छन्। यसैगरी टनेलबाट सात जना नेपाली नागरिकको पनि सफलतापूर्वक उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा राहत सामग्रीसँगै जेनेरेटर पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री टेन्ट तथा फलाम ढुङ्गा काट्ने मेसिन पठाउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन अस्थायी रूपमा मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था गर्ने तयारीसमेत भइरहेको छ।
नुवाकोटमा अस्थायी शिविर स्थापना गरी खाना र पानीको व्यवस्था मिलाइएको छ भने उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत प्रभावित क्षेत्रको जानकारी सङ्कलन भइरहेको जनाइएको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सिकिस्त बिरामी वृद्धवृद्धा महिला तथा बालबालिकालाई प्राथमिकता दिइनेछ।
प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्र उद्धार तथा राहतमा परिचालित रहेको बताउँदै प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गरेका छन्। उनले विपत्तिको यस घडीमा सबैलाई एकजुट भएर सामना गर्नसमेत आह्वान गरेका छन्।


