काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पत्रकार तथा सञ्चारकर्मीका परिवार पनि प्रभावित भएका छन्। बाढीले केही पत्रकारका घर तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको छ भने केही पत्रकार सम्पर्कविहीन भएका छन्।
श्रमजीवी पत्रकार संघ, नेपालका अनुसार नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी र शिलापत्र अनलाइनका प्रकाशक सुरेश सिम्खडा सम्पर्कविहीन छन्। नुवाकोटका पत्रकार निराजन पौडेलका आमाबुबासहित परिवारका पाँच सदस्य तथा पत्रकार राजकुमार नेपाली पनि सम्पर्कविहीन रहेको संघले जनाएको छ।
पत्रकार किरण अधिकारीको घरमा क्षति पुगेको छ भने पत्रकार शिव देवकोटाको मोटरसाइकल बाढीले बगाएको छ। धादिङका पत्रकार विपिन मल्ल ठकुरीको बैरेनी बजारस्थित घरमा क्षति पुगेपछि उनी अन्यत्र बसोबास गर्नुपरेको छ।
बाढी प्रभावित क्षेत्रमा विद्युत्, इन्टरनेट, टेलिफोन तथा यातायात सेवा अवरुद्ध हुँदा पत्रकारलाई समाचार संकलन र सम्प्रेषणमा समेत कठिनाइ भएको छ। सञ्चार पूर्वाधारमा क्षति पुगेपछि विभिन्न सञ्चारमाध्यमको नियमित सेवा पनि प्रभावित भएको हो।
रेडियो नुवाकोटको विद्युत्, फाइबर तथा टावरमा क्षति पुगेपछि प्रसारण बन्द भएको छ। रेडियो सिद्धेश्वर आंशिक रूपमा सञ्चालनमा छ भने विद्युत् अवरुद्ध हुँदा रेडियो भैरवी एफएम र रसुवा एफएम बन्द छन्। अन्य सञ्चारमाध्यमले समेत प्राविधिक तथा भौतिक समस्या झेलिरहेका छन्।
संघले सम्पर्कविहीन पत्रकार तथा उनीहरूका परिवारको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेको छ। प्रभावित क्षेत्रमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सञ्चार पूर्वाधार तत्काल पुनःस्थापना गर्न तथा क्षतिग्रस्त सञ्चार उपकरण, प्रसारण केन्द्र र टावरको मूल्यांकन गरी आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
बाढीका कारण घर, परिवार, रोजगारी तथा सञ्चार सामग्री गुमाएका श्रमजीवी पत्रकार र सञ्चारकर्मीका लागि विशेष राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नसमेत संघले माग गरेको छ। प्रभावित पत्रकार तथा सञ्चारकर्मीको अवस्था थप अध्ययन गरी आवश्यक पहल गर्ने संघले जनाएको छ।


