नुवाकोट । भदौ १० गते बिहान, नुवाकोटका पत्रकार किरण अधिकारी पिपलटार पुगेका थिए त्रिशुलीमा रहेका अधिकारी उनी सुरुमा अर्को ठाउँ जाने तयारीमा थिए। तर त्रिशूलीको पुल पुगेपछि उनको मन बदलियो। 'आज उता नजाऊँ, पिपलटार जाऊँ भन्ने मनमा आयो,' अधिकारीले सम्झिए।
उनी पिपलटार पुगेको दुई मिनेट पनि भएको थिएन। त्यही बेला काठमाडौंबाट उनको आफन्तको फोन आयो। 'त्रिशूलीमा एकदम ठूलो बाढी आइरहेको छ रे, तँ कहाँ छस्?' आत्तिदै फोन गरेका आफन्तलाई म ठिक छु भन्दै ढाडस दिएका किरणले फोन राखेलगत्तै अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई फोन गरे। फोन उठेन। त्यसपछि उनले प्रहरी प्रमुखलाई फोन गरे। उताबाट ठूलो बाढी आइरहेको जानकारी पाए।
'अब अरू कुरा जोगाउन सकिँदैन। मुख्य कुरा मानवीय क्षति कम गराउनु हो,' उनलाई भनियो।
उनले बुबाआमालाई फोन गरे। 'तुरुन्त भाग्नुस्,' उनले भने। त्यही फोनले उनका बुबाआमाको ज्यान जोगियो।
'मेरा ममी–बुवालाई पाँच सेकेन्डको फरकले बचाउन सकेँ,' अधिकारीले भने। अहिले बुबाआमालाई मामाघरमा राखिएको छ। अर्काको शरणमा छन्।
'एक दिन, दुई दिन, तीन दिन बस्न सकिएला। तर सधैँ अर्काको घरमा त बस्न सकिँदैन,' उनले भने।
त्यसपछि अधिकारीले तत्काल स्थानीय जनप्रतिनिधिलाई फोन गर्न थाले। वडा अध्यक्षलाई फोन गरे। त्रिशूली किनारका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न आग्रह गरे।
त्रिशूली बजारतिर पनि फोन गरे। 'तपाईंहरू त्यहाँबाट तुरुन्त भाग्नुस्,' उनले भने।
मेयरलाई पनि फोन गरे। उनी काठमाडौं जाने बाटोमा रहेछन्। 'यो अवस्थामा काठमाडौं नजानुस्। फर्केर आउनुस्,' अधिकारीले भने।
त्यसपछि उनी आफैं फर्किए। उनी बजारसम्म पुगेका थिए। त्यही बेला खबर आयो- 'ढुंगे बजार सिध्यायो।' ढुंगे बजारसम्म बाढी आउला भन्ने अधिकारीले कल्पना गरेका थिएनन्। तर केहीबेरमै त्रिशूलीले भयावह रूप लियो।
'साउथ इन्डियन फिल्ममा समुद्रको ठूलो छाल आएको देखिन्छ नि। त्योभन्दा पनि डरलाग्दो थियो,' अधिकारीले भने 'हेर्दाहेर्दै घरहरू बग्न थाले। सामान बग्न थाले। आत्तिएका मानिसहरू छतमा पुगे। बच्चाहरू रोइरहेका थिए। मानिसहरू अलापविलाप गरिरहेका थिए। कसैले हामफाल्न खोजिरहेको थिए !'
‘बाढीले जीवन नै तहसनहस बनायो’ त्रिशूलीको बाढीले अधिकारीको घर र पसल बगायो। घरमा भएका सबै सामान बगे। पत्रकारिता सुरु गरेदेखि संकलन गरेका महत्वपूर्ण दस्तावेज पनि बगे। पुराना अभिलेख बगे। प्रयोगमा रहेका दुईवटा ल्यापटप पनि बगे।
अहिले भावविह्वल बनेका पत्रकार अधिकारी भन्छन्, 'सम्पत्ति गयो, ठिकै छ। म फेरि उठ्न सक्छु। कमाउन सक्छु,' 'तर पत्रकारिता सुरु गरेदेखि अहिलेसम्म संकलन गरेका मेरा सबै डकुमेन्ट पनि बगे। त्यो सम्झिँदा मेरो मुटु भक्कानिन्छ।'
'अब सम्पत्तिका नाममा मसँग त्यही बिहान बोकेर गएको एउटा झोला मात्रै छ। अरू केही छैन।'
अधिकारीको जीवनमा संकट पहिलोपटक आएको होइन। उनी गम्भीर रोगले थलिएका थिए। भारतमा उपचार गरेर फर्किएका थिए। बल्ल जीवन सामान्य बनाउने प्रयासमा थिए।
त्यही बेला सडक विस्तारका कारण विस्थापित हुनुपर्यो। घर भत्कियो। सामान कोठामा सारियो। फेरि जीवन सुरु गर्ने प्रयास गरे।
तर अहिले त्यही कोठाका सामान पनि बाढीले बगाएको छ। अधिकारीको जिम्मेवारीमा छ जनाको परिवार छ। पत्रकारिताबाटै उनले परिवार पाल्दै आएका थिए। विदुरमा उनको सानो पसल पनि थियो। त्यो पनि बाढीले लग्यो।
अहिले अधिकारीको सबैभन्दा ठूलो समस्या पुनर्वास होइन। अहिले कसरी बाँच्ने भन्ने हो ! उनि भन्छन्, ‘अहिले मसँग भात खाने पैसा पनि छैन’
अधिकारीका अरु परिवा काठमाडामा बस्छन ! परिवार आत्तिएपछि बाधीपछी काठमाडौ पुगेका अधिकारी भन्छन्, 'मसँग भात खाने पैसा पनि छैन। पैसा लेऊ भनेर माग्नुपर्ने अवस्थामा पुगेको छु,'
‘टुरिस्ट मिडिया’ हाबी !
अधिकारी राहत वितरणको अवस्थाप्रति पनि चिन्तित छन्। उनका अनुसार वास्तविक पीडितहरू विभिन्न ठाउँमा छरिएका छन्। कोही होल्डिङ सेन्टरमा छन्। कोही आफन्तको शरणमा छन्। तर सजिलै भेटिएका मानिसहरूलाई नै पीडितका रूपमा देखाउने अवस्था बनेको उनको भनाइ छ।
'नुवाकोटमा अहिले ‘टुरिस्ट मिडिया’ धेरै भयो,' उनले भने। 'कुनै एउटा घरमा आठ–नौवटा कुकरलाईसम्म राहत जम्मा भएको अवस्था छ। वास्तविक पीडितले केही पनि नपाएको अवस्था पनि छ,' ।
अधिकारीले अहिलेको तत्काल समस्या खाना र बास भएकाले नेपाल पत्रकार महासंघसँग पीडित पत्रकारलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्। 'शून्य अवस्थामा पुगेका, परिवार मात्रै बचाएर बसेका पत्रकार साथीहरूलाई तत्काल सहयोग गरिदिनुपर्छ,' उनले भने।
बाढीले सबै तहसनहस बनाइसकेको छ ! तर उनि आफ्नो घर भएको ठाउँमा गएर केहि भेटिन्छ कि भन्ने आशा छ ! 'कोठामा छिर्न सकिन्छ कि। केही बाँकी छ कि भन्ने सानो आशा छ त्यसैले त्यहाँ जान मन छ ! मात्रै छ,' अधिकारीले भने, 'म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर जानुपर्ने भयो, किनभने त्यहाँ मेरो घर सफा गर्ने काम भइरहेको छ। वास्तवमा अहिले बोल्ने शब्द पनि मसँग छैन।'
बाढीपछि सुरक्षित स्थानमा सारिएका पीडितका लागि होल्डिङ सेन्टर बनाइएको छ। तर अधिकारीका लागि त्यहाँ बस्नु पनि सहज निर्णय होइन।
उनि भन्छन्, 'त्रिशुली पारि जान पाए आफन्तकोमा बस्न सकिन्थ्यो तर जाने पहुँच छैन।
सम्पर्कसमेत विच्छेद भएको छ। आफन्तकहाँ गएर बस्न सक्ने अवस्था छैन। त्यसैले होल्डिङ सेन्टर बाहेक बस्ने बिकल्प छैन !
तर त्यहाँ बस्दा समाजले फरक दृष्टिले हेर्ने डर पनि उनलाई छ।
'होल्डिङ सेन्टरमा गएर बसूँ भने बाहिरका मानिसले ‘पत्रकार भएर होल्डिङ सेन्टरमा बसेको छ’ भन्छन्,' उनले भने 'मानिसले बाहिरबाट पीडा बुझ्दैनन्,'
म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर जानुपर्ने भयो, किनभने त्यहाँ मेरो घर सफा गर्ने काम भइरहेको छ। वास्तवमा अहिले बोल्ने शब्द पनि मसँग छैन।'
(बाढी प्रभावित सञ्चारकर्मीको अवस्था बुझ्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको अनुगमन टोली नुवाकोट पुग्दा पत्रकार किरण अधिकारीले भावविह्वल हुँदै सुनाएको)
साभार: प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठको फेसबुकबाट


