Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

फेरि विवादित जेन्जी

MRR को हस्तक्षेपमा ल्याइएका थिए धर्मगुरू !

MRR को हस्तक्षेपमा ल्याइएका थिए धर्मगुरू !

के यो स्टाटस सान्दर्भिक छ ?

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • काठमाडौं । जलेर खरानी भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)  अर्थात् पुरानो संसद् भवन। त्यही संसद् भवन प्राङ्गणदेखि बानेश्वर र माइतीघरसम्म मंगलबार चहलपहल थियो। एक वर्षअघि देश हल्लाउने गरी भएको जेनेरेसन-जी (जेन्जी) आन्दोलनका शहीदहरूको सम्झनामा भव्य कार्यक्रम आयोजना गरिएको थियो।

    images

    कार्यक्रममा सरकारका मन्त्रीदेखि सांसद, जेन्जी आन्दोलनका अगुवा, शहीदका परिवार तथा आफन्तहरूको उपस्थिति थियो। गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कानुनमन्त्री सोबिता गौतम, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, रास्वपा सांसद तथा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललगायत पनि कार्यक्रममा थिए।

    कार्यक्रम सुरु भएको केही बेरमै एउटा तस्वीर सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो।

    निधारमा ठूलो टीका लगाएका दुई धर्मगुरू सरकारका मन्त्रीहरूसँगै अतिथिको रूपमा देखिए। तस्विरसंगै धेरैले प्रश्न गरे, यौन हिंसासम्बन्धी आरोप र विवादमा तानिएका भनिएका धर्मगुरूलाई शहीद सम्झना दिवसको कार्यक्रममा किन अतिथि बनाइयो?

    विवादित मुडमा जेन्जी !

    ठीक एक वर्षअघि भदौ २३ र २४ गते नेपालमा ठूलो आन्दोलन भएको थियो।

    त्यो आन्दोलनले सत्ता मात्र परिवर्तन गरेन। लामो समयदेखि राजनीतिक वर्चस्व कायम गरेका ठूला भनिएका राजनीतिक दलहरूलाई कमजोर बनायो। कहिल्यै नाम नसुनिएका युवाहरू जनताको शक्तिशाली प्रतिनिधिका रूपमा संसद् प्रवेश गरे। केही महिनाअघिसम्म राजनीतिक समीकरणमा समेत नदेखिएका व्यक्तिहरू सरकार सञ्चालन गर्ने ठाउँमा पुगे।

    तर, आन्दोलनको एक वर्षपछि त्यसका फ्रन्टलाइनमा देखिएका अगुवाहरू भने एउटै ठाउँमा छैनन्। कोही सडकमै छन्, कोही सत्ताको सिँढी उक्लिएका छन्।

    हिजोदेखि नै सामाजिक आन्दोलनमा सक्रिय जेन्जी  फ्रन्टलाइनरहरू आन्दोलनपछि पनि सामाजिक अभियानमै छन्। उनीहरू सरकारका गलत कामकारबाहीमाथि आलोचनात्मक प्रश्न उठाइरहेका छन्। तर अर्काथरी सत्ता र संस्थागत राजनीतितर्फ पुगे। कोही पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका सचिवालयमा पुगेका थिए । कोही रास्वपा प्रवेश गरेर सांसद बने। कोही अहिले मन्त्रीका सचिवालयमा छन्।

    जेन्जी आन्दोलनमा प्रमुखताका साथ देखिएका हामी नेपालका संस्थापक सुदन गुरुङ अहिले गृहमन्त्री छन्। जेन्जी फ्रन्टलाइनर पुरुषोत्तम यादव, मनिष खनाल, अफ्साना बानु, शिव यादव, बब्लु गुप्ता र श्रृष्टि भट्टराई रास्वपाबाट सांसद छन्। जेम्स कार्की गृहमन्त्री गुरुङका स्वकीय सचिव छन् भने ओजश्वी थापा रास्वपाको मनोनीत पूर्वकेन्द्रीय सदस्य हुन्। अनिल बानियाँ हामी नेपाल तथा सुदन गुरुङका सहयोगी हुन्। धीरज जोशी पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव थिए। प्रदीप ज्ञवाली र आकृति घिमिरे पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कार्यरत थिए।

    तर, रास्वपा वा अन्य दलमा रहेर चुनाव लड्ने अवसर पाउँदा पनि रक्षा बम, उपार्जुन चाम्लिङ, रिजन राना मगर, माजिद अन्सारी, तनुजा पाण्डे, मोनिका निरौला, लक्ष्मी घिमिरे, युजनराज भण्डारी, अर्नव चौधरी र अमित खनालहरूले भने सडक नै रोजे। उनीहरू अहिले पनि विभिन्न सामाजिक आन्दोलनमा सडकमै भेटिन्छन्।

    शहीद सम्झना दिवसमा विवाद किन?

    यही पृष्ठभूमिमा मंगलबारको शहीद स्मृति कार्यक्रम अझ संवेदनशील थियो। कार्यक्रम जेन्जी आन्दोलनमा घाइते भएकाहरूको संस्था र शहीदहरूको संस्थाको मूल आयोजनामा भएको बताइएको छ। अन्य विभिन्न जेन्जी समूहको पनि कार्यक्रममा सहभागिता थियो।

    तर कार्यक्रमअघि नै खुल्ला डिजिटल समूह MRR अर्थात म्यान्स रुम रिलोडेडको हस्तक्षेपलाई लिएर विवाद सुरु भएको सहभागीहरूको भनाइ छ। कार्यक्रमको तयारीमा संलग्न एक समूहकी नेतृका अनुसार, लामो समयदेखि तयारी भइरहेको शहीद स्मरण दिवसमा सुरुमा सबै धर्मका धार्मिक गुरुहरूलाई सहभागी गराउने प्रस्ताव थियो। उनका अनुसार यस्तो सुझाव शहीदको नेतृत्व गरिरहेको संस्था र घाइतेको नेतृत्व गरिरहेको संस्थाका अध्यक्षहरूबीच भएको थियो। उनी भन्छिन्, 'त्यतिसम्मलाई हामीले अन्यथा मानेका थिएनौँ। तर जब कार्यक्रम भयो, त्यसपछि हिन्दू धर्मसँग सम्बन्धित व्यक्ति मात्रै आए। त्यसमध्ये पनि पीडक भनिएका व्यक्ति।'

    को हुन् ती धर्मगुरू?

    शहीद स्मृति सभामा अतिथिका रूपमा पुगेका बालयोगेश्वर विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारी र श्रीनिवास आचार्यले कार्यक्रममा सम्मान र सत्कार पाए। उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्ने क्रममा सहयोग गरेका थिए। तर, यी धर्मगुरूको विगत भने विभिन्न विवादसँग जोडिँदै आएको छ।

    विजय भण्डारी २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक थिए। उक्त कोटिहोममा संकलित रकमको विषयलाई लिएर ठूलो विवाद भएको थियो। त्यसअघि पोखरामा भएको महायज्ञका क्रममा सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखबिरुवाका हाँगाबिँगा काटिएपछि पनि उनी विवादमा तानिएका थिए। भण्डारीविरुद्ध ठगीसम्बन्धी मुद्दासमेत चलेको थियो। अदालतमा उनले रकम लिएको स्वीकार गरे पनि आफूले लिएको रकम दान भएको जिकिर गरेका थिए।

    स्मृति सभामा सहभागी अर्का श्रीनिवास आचार्य पनि विगतका विवादका कारण चर्चामा आएका पात्र हुन्। २०७५ सालमा हिन्दु राष्ट्रको आन्दोलन उछाल्न आफैंमाथि गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनी पक्राउ परेका थिए। उनीविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा मुद्दा चलेको थियो।

    MRR, धर्म र नयाँ राजनीतिक शक्ति

    विवादलाई अझ राजनीतिक बनाउने अर्को पक्ष पनि छ। MRR अर्थात म्यान्स रुम रिलोडेडले आफ्ना सामाजिक सञ्जालका सामग्रीमा आफूलाई हिन्दू धर्मको रक्षासँग जोडेर प्रस्तुत गरेको देखिन्छ। यही समूहको सहयोगबाट बालेन्द्र शाह ‘बालेन’ अघिल्लो पटक काठमाडौं महानगरपालिकाको मेयर बनेको चर्चा हुँदै आएको छ। यसपटक संसद् निर्वाचनमा प्रत्यक्ष रूपमा उक्त समूह सहभागी नभए पनि उसले सहयोग गरेको दाबीहरू सार्वजनिक भएका छन्। त्यहि समुहको हस्तक्षेपमा औचित्यहीन धार्मिक गुरुलाई जेन्जी शहीदको सम्झना भएको सभामा बोलाइयो।

    त्यसैले मंगलबारको दृश्यले गम्भीर प्रश्न उब्जाएको छ, भ्रष्टाचार, बेथिति र राजनीतिक वर्चस्वविरुद्ध उठेको त्यो आवाज दबाउदै सत्ता संचालकहरू विस्तारै धार्मिक तथा सामुदायिक ध्रुवीकरणतर्फ तर्फ गइरहेका छैनन्?

    यो स्टाटस सान्दर्भिक छ र ?

    शहीदहरूको सम्झनामा आयोजित कार्यक्रम कसैको धर्म, आस्था वा पहिचानविरुद्ध हुनु हुँदैन। अहिले सामाजिक संजाल भरी यहि आवाज सबत्र छ ।

    त्यस्तो कार्यक्रमको मञ्चमा कसलाई बोलाउने, कसलाई प्रतिनिधित्व गराउने र विवादित पृष्ठभूमि भएका व्यक्तिको उपस्थितिले पीडित, परिवार र आन्दोलनकारीलाई कस्तो सन्देश दिन्छ भन्ने प्रश्न भने स्वाभाविक रूपमा उठ्छ। यो सामग्री तयार पार्दासम्म प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुकमा लेखेका छन्, ' प्रिय gen Z, सुशासन कायम हुने नै छ, सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।' सामाजिक संजालभरी पोखिएको असन्तुष्टि पखाल्न बालेनका समर्थकबाहेकका लागि के यो स्टाटस सान्दर्भिक छ र ?

    पोहोरको आजको सम्झनामा सडकमा भेटिएका युवाहरूको धारणा पनि हेरौं !

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij