Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

के चाहन्छन् ज्येष्ठ नागरिक ?

के चाहन्छन् ज्येष्ठ नागरिक ?

मंगलबार, असोज ६ २०८३
मंगलबार, असोज ६ २०८३
  • काठमाडौं । अहिले धेरै बाबुआमाका छोराछोरी विदेशमा छन्। उनीहरुलाई महिनैपिच्छे पैसा आउँछ । औषधि किन्न, घर खर्च टार्न होस् या अन्य काम गर्न कुनै समस्या छैन । घरमा हेरचाहका लागि मान्छे राख्न पनि सकिन्छ। तर कतिपयका लागि बुढेसकालमा चाहिएको सबै कुरा पैसाले पुग्दैन।

    images

    जेष्ठ नागरिकका सवालमा काम गरिरहेका सूर्यप्रसाद श्रेष्ठका अनुभवमा अहिले नेपाली परिवारभित्र एउटा गहिरो समस्या देखिन थालेको छ। सन्तानको आर्थिक सहयोग भए पनि साथ र संवादको अभाव अहिले धेरै जसो जेष्ठ नागरिकहरूले महसुस गर्दै आएका छन् ।

    यो एउटा परिवारको मात्र कथा होइन। यो त हरेक घर, हरेक समुदायको कथा हो । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवापुस्ता विदेशिँदै जाँदा घरमा रहेका जेष्ठ नागरिकको जीवन पनि बदलिएको छ। उनीहरूलाई खाना, औषधि र उपचारको व्यवस्था त गरिन्छ, तर आफ्ना कुरा सुनाउने ठाउँ सधैँ हुँदैन।

    जेष्ठ नागरिकको अर्को समस्या झन् मौन छ। घरभित्रको अप्ठ्यारो उनीहरू प्रायः बताउँदैनन्। बुहारीले खाना नपकाइदिएको होस्, औषधि वा खानपानमा बेवास्ता भएको होस् वा कसैले दुर्व्यवहार गरेको होस् ‘घरको कुरा बाहिर नजाओस्’ भन्ने सोचले धेरै कुरा लुकाइन्छ।

    त्यसैले जेष्ठ नागरिकको हेरचाहलाई केवल स्वास्थ्य उपचारमा सीमित गर्न नहुने अहिलेको आवश्यकता बनेको छ। सक्रिय र स्वस्थ बुढ्यौलीका लागि शारीरिक गतिविधिसँगै सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

    यही सोचबाट ‘दिवा सेवा केन्द्र’को अवधारणा अघि सारिएको छ। त्यस्ता केन्द्रमा जेष्ठ नागरिकको स्वास्थ्य जाँच, औषधिको अवस्था हेर्ने, आवश्यक परे उपचारका लागि पठाउने, शारीरिक गतिविधि गराउने र एकअर्कासँग खुलेर कुरा गर्ने वातावरण बनाउने परिकल्पना गरिएको छ।

    जेष्ठ नागरिकको पहिलो आधार राज्य वा कुनै सेवा केन्द्रभन्दा पनि घर नै हो। बुढेसकाललाई बोझका रूपमा होइन, जीवनको अर्को चरणका रूपमा बुझ्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

    आज हजुरबुबा हजुरआमालाई चस्मा बनाइदिन समय नदिने पुस्ताले भोलि आफ्नै बुढेसकाल सम्झिनुपर्नेछ। किनकि बुढ्यौली अरू कसैको मात्रै कथा नभइ हरेक पुस्ताले एक दिन पुग्नुपर्ने ठाउँ हो।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij