डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राजबहादुर सार्कीले सम्हालेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिकाबाट सरुवा भएर आएका सार्की बुधबार गाउँपालिकामा हाजिर भएका हुन्।
गाउँपालिकामा पदभार ग्रहण गरेका सार्कीलाई अध्यक्ष इन्द्रबहादुर कार्कीले खादा र माला लगाएर स्वागत गरेका थिए। सो अवसरमा अध्यक्ष कार्कीले उनलाई डायरी र कलमसमेत प्रदान गरेका थिए।
सार्कीको आगमनसँगै गाउँपालिकाको प्रशासनिक व्यवस्थापन नागरिकलाई प्रदान गरिने सेवा तथा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसअघि गन्यापधुराका प्रमुख प्रशासकीय अधिकृत रहेका दिलिपकुमार तामाङको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्कीलाई उक्त जिम्मेवारीमा खटाएको हो।
सार्की २०८० साउन ३२ गतेदेखि कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। लालझाडीमा रहँदा प्रशासनिक अनुभव हासिल गरेका उनी कुशल प्रशासकका रूपमा परिचित थिए।
उनको अनुभवले गन्यापधुराको सेवा प्रवाह प्रशासनिक समन्वय र विकास निर्माणका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।


