नमस्कार !
सञ्चार माध्यमको भूमिकाले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने तथ्यलाई हृदयङ्गम गर्दै हामी तपाईं सामु आएका छौँ । कैयन् सञ्चारगृहहरू राजनीतिक दल वा कुनै स्वार्थ समूहका मुखपत्र जस्ता देखिएका र भुइँमान्छेका मुद्दालाई बेवास्ता गरिएका भन्ने व्यापक जनगुनासो बीच हामीलाई 'भक्सपप नेपाल'को आवश्यकता महसुस भएको हो। आमसञ्चारको भीडमा अर्को एक गृह थपिनु मात्र नहोऔँ भन्नेमा हामी सचेत छौँ ।
हामी आकारमा सानो छौँ, सानै कुरा लेख्नेछौँ। आम नागरिकले उठेर बोले राजनीतिक हुरीले उडाउने र बसेर बोले नसुनिने अवस्थाबीच हामी आम नागरिकका आवाज, उल्झन, र प्रश्नका लागि एउटा अभियान बनाउने यत्नमा छौँ। यहाँ रमाइलो पोतिन सक्छ, दुःख पोखिन सक्छ, चिम्टी-चिम्टी प्रेरणाका कथा उबाइन सक्छ, पहरेदारी आवाज उठाइन सक्छ। यो सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता हुनेछ। यो यात्रा चुनौतीपूर्ण भए पनि, परिवर्तन र आशा शिरोधार्य छ।
डिजिटल आमसञ्चारको नियमसङ्गत परिधिभित्र रही हुने नागरिक पत्रकारिताको यो अभ्यासमा तपाईं पाठक-दर्शकहरूको रचनात्मक प्रतिक्रियालाई सधैँ शिरोपर गर्नेछौँ। तपाईंका सद्भाव, दिग्दर्शन स्तुत्य छन्, रहनेछन्।
मनीषा अवस्थी
सम्पादक


