काठमाडौं । राजधानी काठमाडौंसंग जोडिएको ककनी गाउँपालिकामा यतिबेला युवाको संख्या घट्दै गइरहेको छ । तथ्यांकमा हेर्ने हो भने वार्षिक रुपमा ४० प्रतिशत युवा विदेशिने गरेका छन् । नुवाकोट ककनी गाउँपालिका वडा नं ३ का पूर्व सदस्य सेतुमान तामाङले यस क्षेत्रमा पर्याप्त बजेट पनि नहाल्ने, रोजगारीको अवसर नहुने, कृषि तथा उद्योगका सम्भावना नै समाप्त जस्तै भएकाले स्थानीय बासिन्दा उदासिन छन् । गाउँ छोडेर कोही विदेश, त कोही अन्यत्र शहर पसेको उनले बताए । उनी भन्छन्, 'यहाँ छन् त केवल बुढापाका र पढ्ने उमेरका केटाकेटी । केही गर्न सक्ने युवाशक्ति अन्यत्र नै लागिसके ।'
उनका अनुसार ककनी गाउँको विकास हुन नसक्नुमा दलीय प्रवृत्ति नै कारण हो । 'कांग्रेस, एमाले र माओवादी दलसंग आबद्धता लिएका युवाहरुले एक अर्काकै खिचातानी गरेका कारण विकासतर्फ हामी पछाडि परेका हौं', उनी भन्छन् । 'ककनी गाउँपालिका भित्र पनि वडा नं ३ धेरै विकट छ । हामी युवाहरु एकजुट नभएका कारण नै विकासमा अवरोध सिर्जना भएको हो', उनी भन्छन् । ककनी गाउँपालिमा युवाको अवस्था, राजनीतिक आस्था र विकासबारे थप हेरौ, यो भिडियोमा ।


