Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अलविदा 'नक्कली प्रचण्ड'

अलविदा 'नक्कली प्रचण्ड'

मंगलबार, जेठ २० २०८२
मंगलबार, जेठ २० २०८२

  • काठमाडौं । रङ्गकर्मी घनश्याम गौतमको निधन भएको छ । दुई तिहाई जिन्दगी कलाकर्ममा बिताएका ४३ बर्षीय गौतम ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिए । पछिल्लो दशक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्यारिकेचर गरेर उनी 'नक्कली प्रचण्ड' नामले चर्चित भएका थिए । 

    images

     

    विगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका घनश्यामको सोमबार राती भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । कलाकार गौतमको निधनले रङ्गकर्मी, कलाकार र दर्शकहरू स्तब्ध भएका छन् । मङ्गलबार अन्तिम संस्कारका क्रममा काठमाडौँ आर्यघाटमा ठूलो सङ्ख्यामा भेटिएका कलाकारले उनको कलाकर्मलाई स्मरण गरेका थिए ।

     

    सडक नाटकबाट रेडियो नाटक हुँदै टेलिभिजन र प्रहसनमा छिरेका घनश्यामले पछिल्लो दशकमा नक्कली प्रचण्डको भूमिकाबाटै भएरै ख्याति कमाए । गाईजात्राका क्रममा प्रचण्डकै अगाडि उनको नक्कल गरेपछि उनको चर्चा चुलिएको थियो । त्यसो त गौतमले गीतिसङ्ग्रह 'प्रेम कहानी' मार्फत गीतकारका रुपमा डेढ दशकअघि नै परिचय बनाइसकेका थिए ।

     

    लामो उपचारका क्रममा चरम आर्थिक अभाव झेलेका गौतमले पछिल्लो समय साथीसङ्गीको आर्थिक सहयोगमा उपचार जारी राखेका थिए । २०८० सालमा क्यान्सरले च्यापेको थाहा लागेलगत्तै नेपाल र भारतका अस्पतालमा पुगेपनि उनको प्रभावकारी उपचार हुन सकेन । क्यान्सरको स्टेज, उपचार प्रक्रिया र योजना लगायतका विषयमा बुझ्न खोज्दा उल्टै भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र प्रशासनको अपहेलनामा परेको उनको परिवारको बुझाइ छ । 

     

    बाल्यकालदेखि नै कलाकारितामा लागेका गौतमले जिन्दगीको उत्तरार्ध भने निकै कष्ट र अभावमा बिताए । भक्तपुर क्यान्सर अस्पतालको बसाईमा अस्पताल प्रशासनले गरेको दुर्व्यवहारले घाउमाथि नुकचुक छर्‍यो । उपचार खर्च अभावका कारण उनको समयमै प्रभावकारी उपचार हुन सकेन । सहयोगको याचना गर्दा निकटका साथीभाइ, सहकर्मी र शुभेच्छुकहरूले गरेको भरथेग महङ्गो उपचारका लागि पर्याप्त थिएन । अस्पतालमा आएका आश्वासनले न त उनको भौतिक उपचारमा सहयोग गर्यो, न उनलाई  मानसिक रुपमा हौसला नै दियो । 

     

    स्वास्थ्य अवस्था गम्भीर हुँदै गर्दा 'नक्कली प्रचण्ड' अर्थात् घनश्यामलाई भेट्न माओवादी अध्यक्ष अर्थात 'सक्कली प्रचण्ड' अस्पताल नपुगेका होइनन् । उनले उपचारमा सहयोग गर्ने चिल्ला आश्वासन पनि दिएकै थिए, तर त्यो पनि आम नेताको भाषणभन्दा फरक रहेन । प्रचण्डले आश्वासन पूरा नगरेपछि केही दिनअघि उनकी श्रीमती युगज्योतिले घनश्यामकै फेसबुकबाट सार्वजनिक गुनासो गरेकी थिइन् । 

     

    उपचारको क्रममा घनश्यामको आर्थिक अवस्था झनै तन्नम हुँदै थियो । देहान्तपछि मङ्गलबार आर्यघाटमा गरिएको अन्तिम संस्कारमा पनि श्रीमती युगज्योति बिखर्ची थिइन्। कलाकारहरूले आर्यघाटमै आकस्मिक सहयोगको चाँजोपाँजो मिलाए । कलाकारको जीवन-मरणमा यस्तो अवस्था आउनु निकै दुखदायी रहेको चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का बताउँछन् ।

     

    रङ्गकर्मी गौतमले नेपाली कलाक्षेत्र र समाजमा अविराम योगदान गरे । यद्यपि अस्पताल र राज्यको सम्बन्धित निकायले अनदेखा र असहयोग गर्नु दु:खद छ । भनिन्छ- कलाकार देशका गहना मात्रै होइनन् गौरव पनि हुन् । तर गम्भीर रोगले थलिएका कलाकारले उपचारमा दुर्व्यवहार खेप्नुपर्छ भने सरकारले कसरी कलाकारलाई देशका गहना वा गौरव मान्यो र खै ? कलाकर्मीहरूलाई फेरि यस्तो कहिल्यै नहोस्, रंगकर्मी घनश्यामप्रति हार्दिक श्रद्धान्जली !

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij