काठमाडौं : चिकित्सकबाट उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्छ भन्नु गलत भएको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । देशैभर आकस्मिक तथा सघनबाहेकका उपचार सेवा बन्द गर्दै आन्दोलनमा आएका चिकित्सकहरूसँग उपभोक्ता संरक्षण ऐन संशोधनमा सहमतिलाई उपभोक्ता अधिकारकर्मीले यस्तो अभ्यासले नराम्रो नजिर बस्ने बताए। उनले भने, 'कानूनका स्रोत बेगरको तर्क हो, यो तर्क नै मान्दैनौं हामी ।'
भक्सपप नेपालको कार्यक्रम अधिकार (संगैं कर्तव्य) मा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका सचिव तथा अधिवक्ता जय प्रसाद पौडेलले निहित स्वार्थका लागि आधारहिन र बद्नियतपूर्ण प्रयास भएको बताएका छन् । उनले भने, 'विषयका विज्ञसंगको राय लिएपछि आएको फैसला गलत होइन । फैसलाको पूर्णपाठ आउन बाँकी नै छ, न्यायिक परिक्षण हुने क्रममा मुद्दा पर्न हुन्न र आफूले गल्ती गरेको छैन भनेर चिकित्सकबाट आन्दोलन हुनु नै नकारात्मक फाइदालाई संरक्षण गर्ने अभ्यास भयो ।'
पौडेलले बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती आउनु पनि दुःखद भएको बताए । 'अनुगमन गर्ने र व्यवसाय सञ्चालन गर्ने व्यक्तिबाट नै बजारमा ल्याउने सामानमा लगानी भएकाले बजारको अनुगमन र हस्तक्षेप फितलो भएको छ', उनले भने । थप सुनौ कार्यक्रम अधिकारमा उपभोक्ता हित संरक्षण मञ्चका सचिव तथा अधिवक्ता जय प्रसाद पौडेलसंगको यो कुराकानीमा । कुराकानी सुनेर सुझाव दिन नबिर्सनुहोला ।


