Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

घ्याङस्वारामा अध्यक्षको नेतृत्व: श्रमदानबाट समृद्धिको यात्रा

घ्याङस्वारामा अध्यक्षको नेतृत्व: श्रमदानबाट समृद्धिको यात्रा

अध्यक्षको नेतृत्वमा बृहत् श्रमदान : जनप्रतिनिधि र जनताको विश्वासलाई व्यवहारमा उतार्दै घ्याङस्वारा

बिहीबार , असोज १५ २०८३
बिहीबार , असोज १५ २०८३
  • नुवाकोट ।पञ्चकन्या गाउँपालिका–४ स्थित घ्याङस्वारा शहीद स्मारक पर्यटकीय पार्क तथा खेलकुद मैदानमा आयोजित बृहत् श्रमदान कार्यक्रम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको नेतृत्वमा सम्पन्न भएको छ। “कोहीभन्दा छैन कम पालिकालाई एक दिन श्रम” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो।

    images
    fb9cd193-fe55-4903-a1fd-d614392921dc.jpg
    गाउँपालिका अध्यक्ष आफै श्रमदानमा


    कार्यक्रमको नेतृत्व गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गर्नुभएको थियो भने समग्र कार्यक्रमको समन्वय तथा व्यवस्थापन पञ्चकन्या गाउँपालिका रोजगार सीप तथा उद्यमशीलता केन्द्रले गरेको थियो। केन्द्रले कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक विद्यार्थी, संघ संस्था युवा, महिला समूह स्थानीयवासी तथा रोजगार क्षेत्रमा आबद्ध श्रमिकहरूबीच आवश्यक समन्वय सूचना प्रवाह र सहभागिता व्यवस्थापनमा सहजीकरण गरेको थियो।

    7796c1c6-8621-4df1-a9e6-4729a4fab2d0.jpg
    श्रमदान गर्न उपस्थित स्थानीय हरु


    अध्यक्ष तामाङको नेतृत्वमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिला चाम्लिङ लगायत गाउँपालिका परिवारको उल्लेख्य सहभागिता रहेको थियो। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय नागरिकहरू औपचारिक रूपमा उपस्थित मात्र नभई स्वयं श्रममा सहभागी भएपछि कार्यक्रमले थप अर्थपूर्ण स्वरूप लिएको थियो।

    2d64d886-c9d2-44c2-aaca-abc4c7332e15.jpg
    श्रमदानमा उपस्थित विद्यार्थीहरू

    विशेषगरी गाउँपालिकाको नेतृत्वप्रति नागरिकले देखाएको विश्वास र नागरिकको सहभागिताप्रति जनप्रतिनिधिले देखाएको प्रतिबद्धता कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा देखिएको थियो। जनप्रतिनिधिले नेतृत्व गर्ने र नागरिकले त्यसलाई आफ्नै कार्यक्रमका रूपमा स्वीकार गर्दै प्रत्यक्ष श्रममा सहभागी हुने वातावरण निर्माण हुनु कार्यक्रमको विशेष उपलब्धिका रूपमा लिइएको छ।

    9b419c74-81cb-480e-9b1a-e550bf83ddd0.jpg
    श्रमदानमा उपस्थित कर्मचारी तथा शिक्षकहरू

    यस क्रममा अध्यक्ष तेजबहादुर तामाङ स्वयं सहभागीहरूसँगै श्रममा खटिनुभएको थियो। जनप्रतिनिधि र सर्वसाधारणबीच कुनै औपचारिक दूरी नराखी एउटै स्थानमा हातेमालो गर्दै श्रम गर्नुले “स्थानीय विकासमा नेतृत्व र नागरिकबीचको सहकार्य” भन्ने सन्देश दिएको थियो।
    कार्यक्रमको समन्वय गरिरहेको रोजगार सीप तथा उद्यमशीलता केन्द्रले विभिन्न विद्यालय, संघ संस्था, समुदाय र रोजगार क्षेत्रमा आबद्ध श्रमिकहरूलाई एउटै कार्यक्रममा जोड्ने काम गरेको थियो। विद्यालयका प्रधानाध्यापक शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप व्यापक बनाएको थियो। त्यस्तै स्थानीय युवा महिला समूह र स्थानीयवासीको सहभागिताले श्रमदानलाई समुदायस्तरकै साझा अभियानको स्वरूप दिएको थियो।

    47bc9b37-30c9-4e7b-b0b4-543b2f20e045.jpg
    स्वतस्फूर्त युवाहरू श्रमदानमा


    श्रमदानका क्रममा चिया बगानको गोडमेल तथा संरक्षण, पार्क क्षेत्रको सरसफाइ झाडी तथा अनावश्यक वनस्पति व्यवस्थापन, बाटो तथा आसपासको क्षेत्र सफाइ पार्क सौन्दर्यीकरण तथा खेलमैदान क्षेत्रको व्यवस्थापन लगायतका कामहरू सामूहिक रूपमा सम्पन्न गरिएको थियो।
    घ्याङस्वारा क्षेत्रमा चिया खेती, पार्क संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई स्थानीय रोजगारी तथा उत्पादनसँग जोड्ने प्रयास हुँदै आएको छ। रोजगार कार्यक्रममार्फत चिया खेती विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा घ्याङस्वारा अर्ग्यानिक चियाको उत्पादन र बजारीकरणसँग जोडिएका गतिविधिले यस क्षेत्रलाई क्रमशः रोजगारी, उत्पादन र पर्यटनको साझा गन्तव्यका रूपमा विकास गर्ने आधार तयार गरिरहेको छ।

    669bff35-65b3-4b1e-a987-caef9ecb002f.jpg
    पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ

    यसै क्रममा पार्क तथा चिया बगानको संरक्षणका लागि आयोजना गरिएको श्रमदानले केवल सरसफाइ वा सौन्दर्यीकरणको काम मात्र गरेको छैन स्थानीय नागरिकमा आफ्नो ठाउँप्रतिको अपनत्व र जिम्मेवारीको भावना समेत बढाएको छ। विद्यार्थीहरूको सहभागिताले नयाँ पुस्तालाई सार्वजनिक सम्पत्ति संरक्षण वातावरणीय जिम्मेवारी र सामुदायिक श्रमको महत्व बुझाउने अवसरसमेत दिएको छ।

    कार्यक्रम सफल बनाउन रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका रोजगार संयोजक सरोज केसी सरोवर लगायत सम्बन्धित कर्मचारी तथा सहयोगीहरूको सक्रिय समन्वय रहेको थियो। विभिन्न विद्यालय, जनप्रतिनिधि, कर्मचारी, संघ संस्था युवा महिला समूह स्थानीय समुदाय तथा रोजगार क्षेत्रमा आबद्ध श्रमिकहरूलाई एकै स्थानमा समेटेर कार्यक्रम सञ्चालन गर्न केन्द्रले आवश्यक सहजीकरण गरेको थियो। कार्यक्रम व्यवस्थापन तथा समन्वयमा  सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा समूहहरूको समेत महत्वपूर्ण भूमिका रहेको थियो।

    एकै दिन करिब ६०० जनाको सहभागितामा सम्पन्न श्रमदानले जनप्रतिनिधिको नेतृत्व, नागरिकको विश्वास र संस्थागत समन्वय एकै ठाउँमा जोडिँदा स्थानीय विकासका कामलाई समुदायको साझा अभियानका रूपमा अघि बढाउन सकिने सन्देश दिएको छ।
    घ्याङस्वारा शहीद स्मारक पर्यटकीय पार्क तथा खेलकुद मैदान अब केवल भौतिक संरचना वा पार्कको रूपमा मात्र नभई स्थानीय श्रम, रोजगारी चिया उत्पादन पर्यटन वातावरण संरक्षण र सामुदायिक अपनत्वलाई जोड्ने साझा स्थलका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।
    कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भई श्रमदान गर्नुहुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधि निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका परिवार  विद्यालयका प्रधानाध्यापक शिक्षक तथा विद्यार्थी संघ संस्थाका प्रतिनिधि युवा महिला समूह स्थानीयवासी रोजगार क्षेत्रमा आबद्ध श्रमिक तथा सम्पूर्ण स्वयंसेवकप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
    अध्यक्ष तेजबहादुर तामाङको नेतृत्व नागरिकको विश्वास र रोजगार सीप तथा उद्यमशीलता केन्द्रको समन्वयमा सम्पन्न यस बृहत् श्रमदानले “आफ्नो ठाउँ आफैं बनाउने” अभियानलाई व्यवहारमै अघि बढाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij