काठमाडौं । राजधानीको माहोल दसैँमय थियो । कतिपय मानिस शपिङ्गमा व्यस्त थिए । कतिपय घर जाने तयारीमा थिए ! यहि चाडबाडको माहोलमा काठमाडौंको एक चर्चित स्थान कमलपोखरी छेवैको यात्री प्रतिक्षालयभित्र एक अधबैंसे भेटिए। अनुहारमा निराशाको कालो बादल अनि आँखामा अनिश्चित भविष्यको त्रास थियो । हाम्रो आग्रहमा उनी हामीसंग कुरा गर्न राजी भए । उनी चितवन राप्ती नगरपालिकाका सुजन सिलवाल रहेछन् । दसैँको माहोलमा राजधानी व्यस्त रहँदा हुँदा सुजन भने आफ्नो श्रमको मूल्य पर्खिरहेका थिए ।
करिब चार महिनाअघि उनले धादिङमा घर बनाउने काम सुरु गरे। धादिङको जीवनपुरमा दिनरात नभनी सुजनले थुन्चे बोके, बेल्चा हाने र इँटा बोके। घरको प्लास्टर, पेन्टिङदेखि डिजाइनसमेत सबै काम सक्दो राम्रोसँग गरे । तर, जब पारिश्रमिक लिने बेला आयो, ठेकेदार नारायण रिमाल बेपत्ता भए। त्यसपछि सुजन साथीहरू सहित ठेकेदार खोज्न काठमाडौं जाने सल्लाह गरे । ठेकेदार नारायणको घर काठमाडौं भएको थाहा पाएपछि यही असोज ११ गते सुजन साथीहरुसँगै पैदल हिडेर काठमाडौं आएका हुन् । आफ्नो श्रमको मूल्य खोज्न काठमाडौं पुगेका सुजन निराश हुँदै भन्छन् ‘हामी ५ जना घर बनाउने मजदुर सडकछाप भएर बसेका छौँ । त्यो ठेकेदारलाई तत्काल खोल्न सहयोग गर्नुहोस् ।'
सुजनसहित पाँच जना श्रमिकको करिब रु १ लाख ७० हजार पारिश्रमिक ठेकेदारले तिर्न बाँकी छ। यही पैसाको आशमा उनीहरू जीवनपुरबाट १७ किलोमिटर पैदल हिँडेर काठमाडौंको सीतापाइला आइपुगेका थिए । तर, काठमाडौं आइपुग्दा ठेकेदारले सबैको मोबाइल नम्बर ब्लक गरिसकेका रहेछन्।
चाडपर्वमा ठेकेदारले दिएको धोकाले सुजनको परिवारको मिठो खाने र राम्रो लाउने सपना चकनाचूर भयो। चाडबाडको बेला खाली हात घर फर्कने हिम्मत सुजनसँग छैन ।
उसो त, ठेकेदारले पैसा नदिएपछि सुजन र अन्य ठगिएका मजदुरहरूले जीवनपुर प्रहरी चौकीमा उजुरी पनि दिएका थिए। तर, प्रहरीले फोन गर्दा ठेकेदारले फोन उठाएनन्। अन्ततः प्रहरीले काठमाडौं गएर उजुरी दिनुु भनेर पन्छियो।
काठमाडौंको कमलपोखरीमा दिनभर बिताउने सुजनलाई रात कटाउन गाह्रो छ। बाटोमा सुत्न डर लागेपछि यतिखेर उनले एउटा अस्पतालमा सुत्नको लागि कुनामा अनुमति मागेका छन्। हाल नक्साल नारायण चौरस्थित साईबाबाको भवनमा खाना खाइरहेका छन्। सुजनको मनमा अझै एउटा झिनो आशा बाँकी छ, ठेकेदार भेटिन्छन् कि ।
सुजनको जीवनमा यो पहिलो पटक भएको होइन। गत वर्ष पनि लमजुङबाट ठेकेदारले पैसा दिएका थिएन । त्यो बेला पनि उनी ५ दिन हिँडेर काठमाडौं आएका थिए । पटक पटक ठेकेदारको धोका सहनुपरेका सुजन भन्छन्, के हामी मजदुरको मन छैन ? हाम्रो लागि राज्य सरकार केही पनि छैन ।
केही वर्ष पहिले चितवनको सिद्धिविनायक अक्सिजन प्लान्टमा सेक्युरिटीको काम गरेका सुजन, प्लान्ट बन्द भएपछि केही गर्ने सपना बोकेर काठमाडौं आएका थिए। तत्यतिबेला पनि सुरुमा ४ ५ महिना काम नै नपाएर भौंतारिनुपर्यो। पछि ज्याला मजदुरीको काम गर्न थाले । विस्तारै काम सिक्दै गएका सुजनले समयमा पारिश्रमिक पाए महिनामा २० देखि २५ हजार कमाउन समस्या हुँदैन । तर, समयमा पारिश्रमिक नपाउने त कुनै कुनै ठाउँमा पाउँदै नपाउने समस्याले उनी आजित बनेका छन् ।


