Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

हात्ती संरक्षणमा नेपालले थाइल्यान्डसँग बढायो सहकार्य

हात्ती संरक्षणमा नेपालले थाइल्यान्डसँग बढायो सहकार्य

मानव-हात्ती सहअस्तित्व र द्वन्द्व व्यवस्थापनका लागि एनटीएनसी र थाइल्यान्डको सेभ एलिफेन्ट फाउन्डेसनबीच सम्झौता

सोमबार, असोज १९ २०८३
सोमबार, असोज १९ २०८३
  • काठमाण्डौ ।मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ ।

    images

     सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको प्रतिष्ठित संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बीच तीन वर्षे रणनीतिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

    कृषि वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो । मन्त्री चौधरीले तराई मधेश तथा मध्यवर्ती क्षेत्रका बस्तीहरूमा जंगली हात्तीको आवागमनसँगै बढ्दो जनधनको क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधि र ज्ञान भित्र्याउन जोड दिएकी थिइन् ।

     उनकै निर्देशनमा कोषका सदस्यसचिव समेत रहेका बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद (चिरन) पोखरेलको पहलमा थाइल्यान्डको सेभ एलिफेन्ट फाउन्डेसनसँग समझदारी सम्भव भएको हो । 

    सदस्य सचिव डा. पोखरेल र सेभ एलिफेन्ट फाउन्डेसनकी संस्थापक एवम् निर्देशक साङदुआन चैलेर्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    समझदारी पत्रमा वन्यजन्तुको बाँच्न पाउने अधिकारको रक्षा गर्दै व्यावहारिक सहअस्तित्व कायम गर्ने अनुभव, आधुनिक प्रविधि र वैज्ञानिक अभ्यास भित्र्याउने विषयमा केन्द्रित छ ।

     कोषको अध्यक्षको हैसियतमा मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यून गर्न स्थानीय समुदाय निकुञ्ज प्रशासन र अन्तर्राष्ट्रिय विज्ञ संस्थाबीच एकीकृत समन्वय हुनुपर्ने नीतिगत मार्गदर्शन गर्दै आएकी छन् ।

    सम्झौता अनुसार दुवै संस्थाले नेपालमा जंगली हात्तीको बासस्थान संरक्षण मानव हात्ती द्वन्द्व न्यूनीकरणका प्रभावकारी संयन्त्र निर्माण र समुदायमा आधारित सहअस्तित्वका कार्यक्रमलाई संयुक्त रूपमा प्राथमिकताका साथ अघि बढाउनेछन् ।

    यसका साथै घर पालुवाका हात्तीहरूको सुरक्षा, स्वास्थ्य स्याहार पोषण, उचित आवास व्यवस्थापन र उद्धार तथा पुनर्स्थापनामा थाइल्यान्डको उत्कृष्ट प्राविधिक ज्ञान र विज्ञता आदानप्रदान गरिनेछ । 

    एमओयू अन्तर्गत माउते, हेरचाहकर्ता तथा वन्यजन्तु प्राविधिकहरूको क्षमता अभिवृद्धि, संयुक्त अनुसन्धान प्रविधि हस्तान्तरण र प्रभावित स्थानीय समुदायमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

    कोषले हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बेदकोट लगायतका तराईका संवेदनशील भूभागमा स्थानीय तहमा विद्युतीय तारबार विस्तार साइरन तथा टर्चलाइट वितरण र झाडी सफाइ जस्ता तत्कालिन सुरक्षात्मक उपाय चलाइरहेको छ । 

    यो सम्झौताले नेपालमा मानव हात्ती द्वन्द्वलाई घटाएर संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij