Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

‘खरी बिनाको मादल भनेको नुन बिनाको तरकारी जस्तै हो!’

‘खरी बिनाको मादल भनेको नुन बिनाको तरकारी जस्तै हो!’

शनिबार, कात्तिक १ २०८२
शनिबार, कात्तिक १ २०८२
  • काठमाडौँ। काठमाडौँको व्यस्त बजार पकनाजोलमा रहेको  सानु कुलुको पसलमा हामी पुग्दा उनलाई भ्याई नभ्याई थियो मादल बेचेर । नजिकिदैं गएको तिहारको लागि पनि उनको त्यो पसलमा मादल धेरै बिक्री भईरहेको थियो। त्यो पसलले नेपाली लोक-संस्कृतिलाई आफ्नो धड्कन दिइरहेको छ। धादिङ बाट आएको कुलुले १२ वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर हातको सीपले मादल बनाएर बेचिरहेका छन् । २०६६ सालमा काठमाडौँ छिरेका सानुलाई मादल बनाउने कला पुर्ख्यौली सम्पत्ति जस्तै लाग्छ । गाउँमै दाजुबाट सिकेको यो काममा उनी विस्तारै पोख्त बन्दै गए। एसएलसीसम्मको अध्ययनपछि उनले किताबी ज्ञानलाई निरन्तरता नदिई यो विशुद्ध सीपतिर लागे। तीन दाजुभाइ र तीन दिदीबहिनीको परिवारका सानुले यही मादलको काममा आफ्नो भविष्य देखे, र पकनाजोलमा आफ्नो पसल खोले जुन अहिले निकै पूरानो पसल कहलिएको छ । 
    सानु कुलु भन्छन्, ‘यो काममा लगाव भएकै कारण लामो समयदेखि एउटै काममा टिक्न सकेको छु।’ उनको यो लगाव केवल व्यवसाय मात्र हैन यो लोकबाजाप्रतिको एक गहिरो भावनात्मक नाता पनि हो।
    मादल तयार गर्न बाख्राको छाला, गोरूको छाला र उपयुक्त काठ चाहिन्छ। सानुका अनुसार मादल बनाउने प्रक्रियामा काठलाई रङ्ग लगाउने, पुटिङ गर्ने, तना (गोरुको छालाको डोरी) काट्ने र नापेर बनाउने काम गरिन्छ।
    मादलको आत्मा भनेको खरी हो। यसको महत्व दर्शाउँदै उनी भन्छन्, 'खरी बिनाको मादल भनेको नुन बिनाको तरकारी जस्तै हो।'  मादलबाट सही र कर्णप्रिय आवाज निकाल्ने काम नै खरीले गर्छ।
    मादल बनाउन चाहिने काठ उनी धादिङबाट अर्डर दिएर कहिलेकाहीँ आफैं गएर ल्याउँछन्, तर छाला भने धेरैजसो भारतबाट आयात हुन्छ। मादलको मुखमा बाख्राको छाला र तनाको लागि गोरूको छाला प्रयोग हुन्छ।
    सानुको पसलमा रहेको मादल, तबला र ढोलक उनी आफैं बनाउँछन्। यी बाहेक उनको पसलमा सारङ्गी, बाँसुरी, युकिलेले लगायतका बाजा पनि पाइन्छन्। १८ सय देखि २ हजारसम्म पर्ने सानो मादल बनाउन होस् वा ठूलो त्यसको लागि  करिब तीनदेखि चार दिन लाग्छ । उनी पुरानो मादल मर्मतको काम पनि गर्छन्। उनी आफ्नो यो कामबाट पूर्ण सन्तुष्ट छन्।
    उनलाई काम गर्दा सबैभन्दा कठिन  भनेको छाला मगाउन लाग्छ । मादल नेपाली राष्ट्रिय बाजा पनि हो, यसको प्रयोग बिचमा केही घटे पनि अहिले फेरि बढ्न थालेको छ। लोकगीत, तिहार, जात्रा लगायतका हरेक सांस्कृतिक कार्यक्रममा यसको महत्व उस्तै छ।
    सानुको पसल बिहान ७ बजे खुलेर बेलुका ९ बजेसम्म चल्छ। तिहारमा त उनको दिनमै १५–२० वटा मादल बिक्री हुन्छन्। यो चाप धान्न उनको पसलमा उनीसहित तीनजना कर्मचारी छन्। उनी आफैं पनि मादल बजाउन जान्दछन्, किनकि उनी विश्वास गर्छन्, ‘जो मान्छे लोक संस्कृतिसँग जोडिएको हुन्छ उसलाई मात्र यसको महत्व थाहा हुन्छ।’
    एक छोरा र एक छोरीका बाबु सानुलाई भने आउने पुस्ताले यो सीप अपनाउन सक्दैनन् कि भन्ने चिन्ता छ। सरकारले मादलको संरक्षण र यसको कच्चा पदार्थ (छाला) आयातमा केही सहजता गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ। उनी भन्छन्, 'मादल बनाउने काम सुरु गर्न करिब एक लाखसम्मको लगानी लाग्छ।'
    सानु कुलुको पकनाजोलको पसल केवल एउटा व्यवसाय मात्र होइन, यो नेपाली लोक-संस्कृतिको धुनलाई जीवित राख्ने एउटा प्रयास पनि हो।

    images

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij