काठमाडौँ। नेपालको वर्तमान राजनीतिक र सामाजिक अवस्थाबाट निराश बनेका नागरिकहरूको आवाज राजधानीमा गुञ्जिरहेको थियो । यस भीडमा एक यस्तो आवाज पनि थियो जसको शारीरिक अवस्था कमजोर भए पनि मनोबल खम्बा जतिकै बलियो थियो । त्यो आवाज हो महेन्द्र तामाङको ,जो गौशालाबाट त्रिभुवन विमानस्थल जाने सडकपेटीमा माग्दै-हिड्दै गरेको अवस्थामा भेटिए । पाँचथरबाट ह्वीलचेयरमा काठमाडौँ आइपुगेका तामाङ, दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन मात्रै गर्दैनन्, उनी नेपाललाई 'सपाङ्ग' बनाउने महाअभियानमा आफूलाई होमेको घोषणा गर्छन्। महेन्द्र तामाङको जीवनको १५ वर्ष कम्मरमुनि प्यारालाइसिस भएर बित्यो। एसएलसी पास गरेर जीवनमा अगाडि बढ्ने सपना देखेका उनलाई भाग्यले अशक्त बनायो । तर, अहिले उनको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ताले उनलाई काठमाडौँसम्म डोहोर्याएर ल्यायो , त्यो हो देशको वर्तमान अवस्था।
‘नेपाल अपाङ्ग भइसक्यो। हामी ओछ्यानमा कसरी सुतेर बस्ने ? देशलाई कसरी तन्दुरुस्त बनाउने (सपाङ्ग बनाउने) भन्ने अभियानमा हामी हिँडेका हौं। ‘ उनीभित्र गहिरो देशभक्ति छचल्किन्छ ।
सरकारले अपाङ्गता भएका व्यक्तिलाई दिने मासिक १५ सयदेखि २५ सय रुपैयाँ भत्ताले जीवन धान्न नसकिने उनी बताउँछन् । तर, पैसाभन्दा ठूलो पीडा सामाजिक अपमान हो जुन उनी भोगिरहेका छन् । उनी दुखेसो पोख्छन्, बाटोमा हिँड्दा मानिसहरूले अपाङ्गता भएकाहरूलाई 'पागल' भन्ने र '५ रुपैयाँ' दिएर पन्छाउने गरेको व्यवहारले अपाङ्ग समुदायमाथि ठूलो घृणा र असमान व्यवहार भइरहेको छ।
आन्दोलनमा सहभागी हुने दृढ संकल्प लिएर असोज २९ गते काठमाडौँ आइपुगेका तामाङको बसाइ पनि कम संघर्षपूर्ण छैन। उनी अहिले पशुपतिनाथ मन्दिर नजिकै कोठा भाडामा लिएर बसेका छन् ।
उनी आफू र आफ्नो सहयोगीको खर्च धान्नका लागि मन्दिर र अन्य सार्वजनिक स्थानहरूमा सहयोग माग्छन् । दैनिक करिब ८ सय देखि १ हजार रुपैयाँ जम्मा गरेर उनीहरू होटल तथा खानाको खर्च धानिरहेका छन्।
घरमा श्रीमती, दुई छोरी, एक छोरा र आमाबुवा भए पनि देशको लागि आफू शहीद हुन पनि तयार रहेको उनी बताउँछन्। उनी भन्छन् , ‘देशको चिन्ताले मलाई एकै ठाउँमा बस्न दिएन। देश बन्यो भने हामी त्यसै सुखी हुन्छौँ।’
नेपालको दुर्दशाको मूल कारण वर्तमान भ्रष्टाचारी राजनीतिक नेतृत्व र संविधान हो जस्तो उनलाई लाग्छ ।उनको प्रमुख मागहरू र अडानहरूले शासक वर्गलाई गम्भीर चुनौती दिएका छन्
उनले शंकाको घेरा हटाउन सार्वजनिक रूपमै एक दृढ संकल्प व्यक्त गरेका छन् । उनी भन्छन् ‘भोलिको दिनमा मैले कुनै राजनीतिमा प्रवेश गरें वा भने मैले कुनै भ्रष्टाचार गरेँ भने मेरो जति सम्पत्ति छ नि, अहिले सम्मको सबै राष्ट्रियकरण होस्। तीन पुस्ता सम्मको सम्पत्ति राष्ट्रियकरण होस्।’
यो प्रतिबद्धताले उनको नियत स्पष्ट पार्छ । उनको चाहना व्यक्तिगत लाभ होइन, बरु देशको भविष्य हो।उनको यो संघर्षको सन्देश देश विदेशमा रहेका सबै नेपालीसम्म पुगोस् भन्ने उहाँको कामना छ।
महेन्द्र तामाङको ह्वीलचेयर यात्रा केवल एक व्यक्तिको आन्दोलनमा सहभागिता मात्र नभएर, व्यवस्थाबाट वञ्चित पारिएका अपाङ्ग समुदायको अधिकार र आत्मसम्मानको लागि सशक्त विद्रोह हो। उनको यो निडरताले हरेक नेपालीलाई देशको भविष्यबारे सोच्न बाध्य पारेको छ ।


