Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

'इमान्दारी मानिसमा हुनैपर्ने गुण हो'

'इमान्दारी मानिसमा हुनैपर्ने गुण हो'

सोमबार, माघ १९ २०८२
सोमबार, माघ १९ २०८२
  • काठमाडौं। चक्रपथ छेउको शंख पार्क। जाडो याम। चर्को घाम लागिरहेको छ। पार्कमा विश्राम गर्न आउने, गर्ने र जाने क्रम चलिरहेको छ। यसैबीच केही वृद्ध अनुहारहरूको समूह भेटिन्छ। हामीलाई त्यो वृद्ध समूहप्रति चासो लाग्यो। नजिक गएर बुझ्ने कोसिस गर्‍यौँ—के कुरा हुँदैछ भनेर।

    images

    शिरमा ढाका टोपी, निधारमा रातो टीका र जुँगा सेतै फुलेका एक पाकासँग सोध्यौँ,
    ‘के हुँदैछ यहाँ बा?’

    ‘के हुनु बाबु,’ उनले भने, ‘जीवनका सुख–दुःख र भोगाइका कुरा हुँदैछन्। हाम्रो यो नियमित काम हो।’

    ‘अनि चुनाव आउँदै छ, त्यसबारे पनि कुराकानी हुन्छ होला नि?’ हामीले जिज्ञासा राख्यौँ।

    ती वृद्धले हिजोआज मुख्य चर्चाको विषय नै चुनाव भएको बताए। त्यसपछि हामीले उनैसँग अलि लामो कुराकानी गर्ने सोच्यौँ। हेर्दा जीवनलाई पूरापूर भोगिसकेजस्ता देखिन्थे उनी। सुरुमा हामीले चुनावकै कुरा गर्‍यौँ। त्यसपछि उनले भारतमा श्रम गरेर बिताएका झण्डै तीन दशकका अनुभव सुनाए।

    … … …

    उनी गोरखाका ७५ वर्षीय पुष्पनाथ तिमल्सिना रहेछन्।

    पुष्पनाथले यसपटक भोट फेर्ने सोचेका छन्। ‘पुराना दल र नेतालाई भोगिसक्यौँ, आश्वासन मात्रै पाइयो,’ उनी भन्छन्, ‘अब नयाँ दलका नयाँ नेतालाई भोट हाल्नुपर्छ।’

    भोट हाल्ने अधिकार भएकाले यसको राम्रो प्रयोग गर्नुपर्ने उनको धारणा छ। तर नयाँमा पनि कसलाई दिने भन्ने विषयमा गहिरो सोचविचार गर्नुपर्ने बताउँछन्। ‘भोलिपल्ट कसले जित्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। चुनाव गोप्य हुन्छ। यसैलाई हाल्छु भनेर अहिल्यै नभनौँ,’ उनले भने।

    … … …

    पुष्पनाथले जीवनको ठूलो हिस्सा भारतमा संघर्ष गर्दै बिताए। पाँच वर्षको उमेरमै विवाह गरेका उनले औपचारिक शिक्षा नपाए पनि जीवनले सिकाएको अनुभव, इमान्दारी र मेहनतलाई आफ्नो मूल पूँजी बनाए। सन् १९६४ देखि झण्डै तीन दशक भारतका विभिन्न सहरमा गलैँचा तथा ऊन उद्योगसँग सम्बन्धित काम गर्दै निजी कम्पनीमा जिम्मेवारी सम्हाले।

    आफूले नपढे पनि सन्तानलाई शिक्षामा जोड दिए। अहिले उनी काठमाडौँमा बस्छन्।

    साढे पाँच वर्षको उमेरमा बिहे भयो भन्ने कुरा आजको पुस्तालाई अचम्म लाग्न सक्छ। तर त्यो समय, त्यो समाज र त्यो जीवनको यथार्थ नै त्यही थियो। बिहेको रात पुरेतले मन्त्र पढ्न लगाउँदा निन्द्राले होला वा डरले, बालक–दुलाहा पढ्न मान्दैन। सुपारी नपाएसम्म मन्त्र नपढ्ने अडान लिन्छ। त्यो सुपारी पूजा गर्ने खाले थियो, खाने होइन। त्यही सुपारी मुखमा हालेर दुई–चार शब्द पढिएको सम्झना मात्रै बाँकी छ, बिहेको अरू केही सम्झना छैन। पाँच वर्षको उमेरमा भएको बिहे आज पुष्पनाथको जीवनमा कथा जस्तै बनेको छ।

    उनकी श्रीमती सुरुमा माइतै बस्थिन्। गाउँमा भेट हुँदा ‘दाइ’ भनेर बोलाउँथिन्। गोठालो जाँदा, पातमा भेट हुँदा पनि ‘दाइ’ नै। उमेर बढ्दै जाँदा त्यो सम्बोधन आफैँ हराउँदै गयो। ‘१३–१४ वर्ष पुगेपछि मात्रै घर आउन थालेकी हुन्,’ पुष्पनाथ सम्झँदै भन्छन्।

    त्यसपछि पुष्पनाथको जीवनले अर्कै मोड लियो। उनी भारत गए। कम उमेरमै भारत जाने, संघर्ष गर्ने, एक्लै बस्ने र परिवार गाउँमै छोड्ने निर्णय सजिलो थिएन। ‘सुरुआती बसाइ त साह्रै गाह्रो थियो,’ उनी भन्छन्, ‘भाषा नआउने, चिया पसलमा काम गर्ने, भाँडा माझ्ने, चौकीदारी गर्ने—जे पायो त्यही। तर मनमा एउटा कुरा थियो, काम सिक्नैपर्छ।’

    केही वर्ष अन्यत्र काम गरेपछि उनी गलैँचा र ऊनको कामतिर लागे। भेडाको ऊन कहाँबाट आउँछ, कसरी धागो बन्छ, कसरी कार्पेट बन्छ—सबै सिके। त्यही सीपले जीवनको बाटो बनायो। एउटै कम्पनीमा २४ वर्ष बिते। ‘दिल्लीका मुख्य केन्द्र, बम्बई, कलकत्ता, सिमला, जम्मु–कश्मीर, कुल्लु–मनाली, अहमदाबाद—जताततै पुगिन्थ्यो,’ उनी भन्छन्, ‘चुनौतीपूर्ण पनि थियो, रमाइलो पनि।’

    ‘काम कारखानामा बसेर गर्ने होइन,’ उनी सम्झन्छन्, ‘अर्डर लिने, पैसा उठाउने, हिसाब मिलाउने। जिम्मेवारी ठूलो थियो, मप्रति विश्वास पनि थियो।’ त्यही इमान्दारीका कारण कम्पनीले गाडी र ड्राइभर दिएर नेपाल पठाउने गर्थ्यो। त्यसमा पनि उनको कुनै खर्च लाग्दैनथ्यो। खर्च कम्पनीकै, घर आउन–जान सजिलो।

    त्यो समय आजजस्तो थिएन। बाटो कच्चा थियो, पहाड हिँडेरै पार गर्नुपर्थ्यो। भन्छन्, ‘गाडी मलेखुसम्म मात्रै थियो, त्यहाँबाट एक दिन हिँडेर गाउँ पुग्नुपर्ने बाध्यता थियो।’

    आफूले अधिकांश समय उतै बिताए पनि परिवारलाई कहिल्यै भारत नलगेको बताउँछन्। श्रीमती र छोराछोरी गाउँमै। खेतीपाती, गाई–गोरु र गाउँकै जीवन। कमाइ गर्ने एक्लो मान्छे भारतमा, तर सपना नेपालमै। भन्छन्, ‘छोराछोरी पढाउने लक्ष्य थियो। आफू स्कुल नगएको मान्छे, नाम लेख्न पनि नआउने, तर पढाइको महत्व बुझेको थिएँ।’

    त्यसैले पढाइका लागि छोरालाई विदेश पठाए, तर काम भने नेपालमै गराए।

    जीवनका यति धेरै संघर्ष सम्झँदा उनलाई काममा टिकाइराख्ने र सन्तोष दिलाउने एउटा कुरा छ— इमान्दारी। पैसा हातमा हुँदा पनि नठग्ने, अर्काको पैसामा लोभ नगर्ने। अरूले पाँच सयको नोट गोजी हालेर भागेको देख्दा पनि आफूले त्यसो नगरेको आत्मसन्तोष छ उनमा। ‘सानो कुरा जस्तो देखिए पनि यही इमान्दारीले आजसम्म मान, सम्मान र सम्बन्ध जोगिएको छ,’ उनी भन्छन्, ‘अझै पनि पुरानो साहुले बोलाउँछ, खर्च दिन्छ, आदर गर्छ। किनभने मैले कहिल्यै विश्वास तोडिनँ।’

    उनी जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा इमान्दारी ठान्छन्। त्यसैले सबैलाई इमान्दार रहन अर्ती दिन्छन्।

    ‘जिन्दगी फेरि पाइँदैन,’ उनी भन्छन्, ‘त्यसैले जिन्दगी राम्रोसँग बाँच्नुपर्छ। धेरै धन नथुपार्नुहोस्। सन्तोषले बाँच्नुहोस्। बिहान–बेलुका दाल–ढिँडो भए पनि आफ्नै कमाइ र इमान्दारीको हो भने त्यही नै सबैभन्दा ठूलो सुख हो।’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij