काठमाडौं। शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीको रूपमा सपथ लिँदैछन्। यो सँगै मधेशले पहिलो प्रधानमन्त्री पाउँनेछ। त्यो पनि दुई तिहाई नजिकको शक्तिशाली सरकारको प्रधानमन्त्री। सपथ लिएपछि बालेन वि.सं २०४६ सालपछिको कान्छो प्रधानमन्त्रीको रूपमा पनि रेकर्ड राख्नेछन्।
बिहिबार बालेन सहितका सांसदले सपथ लिएका छन्। प्रधानमन्त्रीको रूपमा भने उनले शुक्रवार सपथ-ग्रहण गर्नेेछन्।
यस्तोमा बालेनलाई भेट्न भनी मधेशको विरगंजबाट आएको एक समूहलाई हामीले भेट्यौँ। उनीहरू रबी र बालेनका कट्टर समर्थक हुन्। उनीहरूको हातमा रास्वपाको तथा रबी-बालेन समर्थनको रूपमा 'काँवर' बोकेर आएका छन्। जसको दायाँ बाँया उनीहरूले बालेन र रबीको फोटो राखेका छन्। उनीहरूका अनुसार काँवर मधेशको धार्मिक प्रतीक हो।
यो टिममा तीन जना छन्। उनीहरूको हातमा बालेन र रबीको समर्थन स्वरूप 'अबकी बार बालेन सरकार' लेखिएको एउटा सांकेतिक सामग्री छ। समर्थन गर्ने यो तरिकाबारे र अन्य विषयमा कुराकानी गरेका छौँ ।
टोलीका सदस्यहरूले आफूले बोकेको सामग्रीलाई काँवर को संज्ञा दिँदै यसको विशेष अर्थ रहेको बताएका छन्। हिन्दू धर्ममा श्रवण कुमारले आफ्ना माता पितालाई काँवरमा राखेर तीर्थयात्रा गराएको प्रसङ्गबाट प्रभावित भएर उनीहरूले नयाँ नेपाल निर्माणको आशमा बालेन र रविको तस्बिर राखेर मधेश परिक्रमा गरेका हुन्।
उनीहरूले भने, 'हामीले एउटा कुनामा रविजी र अर्कोमा बालेनजीलाई राखेर मधेश परिक्रमा गर्यौँ। यो यात्रा पुरानो दलबाट मुक्ति र नयाँ नेपाल निर्माणको एउटा प्रतीकात्मक सुरुवात हो। उनीहरूले यसलाई' अबकी बार बालेन सरकार को नारा दिँदै मधेशका गाउँ गाउँ पुर्याएका थिए।
यो टोलीमा वैदेशिक रोजगारी छोडेर देशको राजनीतिमा आएको परिवर्तनबाट उत्साहित भएका युवाहरू समेत सहभागी छन्। टोलीका एक सदस्य दोहा कतारमा कार्यरत थिए, तर देशमा परिवर्तनको लहर आएको देखेपछि उनी आफ्नो काम र टिकट रद्द गरेर चुनावी अभियानमा सहभागी हुन नेपाल फर्किएका हुन्। उनले भने, 'म १५/२० वर्षदेखि विदेशमा पसिना बगाउँदै थिएँ, तर अब बालेनजी र रविजीले देशमै कलकारखाना खोल्ने र रोजगारी दिने आशमा म काम छोडेर आएको हुँ ।'
'मान्छेहरूले मधेशका जनता पैसा र मासुमा बिक्छन् भन्थे, तर यसपालि मधेशी जनताले प्रमाणित गरिदिए कि उनीहरू केवल परिवर्तन र राष्ट्रियताका पक्षमा छन्। ३२ मध्ये ३० सिट जितेर हामीले ठुलो सन्देश दिएका छौँ।'
शपथ ग्रहणपछि बन्ने नयाँ सरकारसँग यी समर्थकहरूका केही स्पष्ट माग र अपेक्षाहरू रहेका छन्। उनीहरूले मुख्य रूपमा भ्रष्टाचार नियन्त्रण, खाडी मुलुकमा ४०–५० डिग्रीको तापक्रममा काम गर्नुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना र कलकारखानाको पुनः सञ्चालन हुनुपर्ने माग राखेका छन्। साथै, तराई, पहाड र हिमालबीचको भेदभाव अन्त्य गर्दै जातीय द्वन्द्वको नियन्त्रण, १२ कक्षासम्म निःशुल्क शिक्षा र (जेनजी) आन्दोलनका सहिदहरूको सपना पुरा गर्न संविधान संशोधन हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्। उनीहरूले बालेनलाई 'मधेसी जनता जहिले पनि बोर्डरमा उभिएर देश जोगाउने असली राष्ट्रभक्त हुन्' भन्दै मधेशलाई समान व्यवहार गर्न आग्रह समेत गरे।
वीरगन्जबाट गाडीको छतमा काँवर बाँधेर काठमाडौं आइपुगेको यो टोलीको अब एउटै अन्तिम इच्छा भनेको शपथ ग्रहणपछि बालेन शाह र रवि लामिछानेसँग प्रत्यक्ष भेटेर एउटा फोटो खिचाउनु हो। 'हाम्रो मेहेनत सफल भएको छ, हामीले सोचेभन्दा बढी दुई तिहाइको मत आएको छ।' उनीहरूले उत्साहित हुँदै भने, 'अब उहाँहरूलाई भेटेर शुभकामना दिएपछि मात्र हामी मधेश फर्किनेछौँ।'


