काठमाडौं। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा अध्यक्षका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।
पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रमा नार्कले पु¥याएको योगदानको प्रशंसा गर्दै बदलिँदो राष्ट्रिय आवश्यकताअनुसार अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले कृषि अनुसन्धान मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नार्कलाई राष्ट्रिय ‘थिंक ट्यांक’ तथा प्राविधिक सहयोगको अग्रणी संस्थाका रूपमा अघि बढाउनुपर्ने बताइन्।
मन्त्री चौधरीले कृषि अनुसन्धानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै अनुसन्धानमुखी नीतिबिना कृषि क्षेत्रमा अपेक्षित सुधार सम्भव नभएको धारणा राखिन्। साथै, हालसम्म विभिन्न योजना ल्याइए पनि अनुसन्धानलाई केन्द्रमा नराख्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन्।
'कृषि अनुसन्धान सरकारको उच्च प्राथमिकतामा छ, अनुसन्धानमुखी नीतिबिना अपेक्षित सुधार सम्भव छैन। हामीमध्ये धेरै किसानका छोराछोरी हौं तर आज किसानको सन्तान भएकोमा गर्व गर्न सक्ने अवस्था छैन, यसलाई बदल्ने जिम्मेवारी नार्कमाथि छ। अबको नीति अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्ने हो। अनुसन्धान प्रयोगशालामा सीमित नभई किसानको खेतमै विस्तार हुनुपर्छ, किसानको खेतलाई नै ल्याब बनाउनु पर्छ। मलको प्रयोगदेखि उत्पादन व्यवस्थापनसम्म किसानलाई प्रत्यक्ष जानकारी पुग्ने व्यवस्था गर्नुपर्छ र रासायनिक मल अभावजस्ता समस्याको दीर्घकालीन समाधान अनुसन्धानमार्फत नै सम्भव छ,' मन्त्री चौधरीले भनिन्।
मन्त्री चौधरीले मन्त्रालय र सरकार आवश्यक स्रोत तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूलाई जिम्मेवारीप्रति गम्भीर भएर काम गर्न निर्देशन दिइन्। कार्यक्रममा परिषद्का वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो।


