काठमाडौं। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। मंगलबार काठमाडौंको शान्तीबाटिकामा खबरदारी सभाको आयोजना गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो ।
खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावना चोट पुर्याएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको सीमासम्बन्धी उक्त अभिव्यक्तिले सार्वभौम राष्ट्र नेपालको प्रतिष्ठामा धक्का पुग्नुका साथै स्वाभिमानी नेपाली नागरिकको आत्मसम्मानमा चोट बताएकन छन्।
राईले काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने र प्रधानमन्त्री बनेपछि नेपालको भूमि र सीमासम्बन्धी फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री साहको अभव्यिक्ति राष्ट्रिय हित र स्वाभिमानमाथि प्रहार भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिन आग्रह गरेकन छन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्नको लागि यहाँ आएका छौँ । उनलाई सुध्रिनको लागि ध्यानाकर्षण गराउनको लागि पनि हामी यहाँ आएका हौँ। उनले सीमासम्बन्धी दिएको अभिव्यक्तिले सारा नेपाली रुष्ट हुनुका साथै सार्वभौम नेपालीको शीर निहुरिएको अवस्था छ।
प्रधामनमन्त्री शाहले प्रतिनिधि सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै 'भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको' विवादित अभिव्यक्ति दिएका थिए । यही विषयलाई लिएर विपक्षी दलहरुले संघीय संसदको बैठकमा अवरोध गर्दै आएका छन् ।


