महेन्द्रनगर। कञ्चनपुरका स्थानीय तहहरूले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि जग्गा नापनक्साको कार्यलाई तीव्र पारेका छन्। जिल्लाका नौ वटै स्थानीय तहले प्राविधिक टोलीहरू परिचालन गरी आ-आफ्ना क्षेत्रमा धमाधम नापजाँच अघि बढाएका हुन्। कञ्चनपुरमा मात्रै करिब ६० हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेकाले यो समस्या समाधान गर्न स्थानीय सरकारहरूले विशेष प्राथमिकता दिएका छन्।
यसै क्रममा शुक्लाफाँटा नगरपालिकाले आजैदेखि वडास्तरमै पुगेर नापजाँचको काम सुरु गरेको छ। नगरप्रमुख रणबहादुर महराका अनुसार हाल वडा नम्बर ५, १० र ११ मा नापनक्साको कार्य भइरहेको छ। यसअघि नै ६ वटा वडाको नापजाँच सम्पन्न गरिसकेको नगरपालिकाले बाँकी रहेका वडा नम्बर ६, ७ र ८ मा भने बर्खा सकिएलगत्तै प्राविधिक टोली खटाउने तयारी गरेको छ। करिब १२ हजार भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेको शुक्लाफाँटामा भूमि आयोगको प्राविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको र नापजाँच सकिएलगत्तै लालपुर्जा वितरणका लागि सम्पूर्ण कागजात आयोगलाई बुझाइने नगरप्रमुख महराले बताएका छन्।
त्यस्तै, कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र जग्गा नापनक्साको काम थालनी गरेको छ। कृष्णपुरको वडा नम्बर ५ र ६ बाट यो कार्य सुरु गरिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए। १७ हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको यस पालिकामा नागरिकको जग्गा व्यवस्थापन सम्बन्धी कामहरू छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।
अर्कोतर्फ, बेदकोट नगरपालिकामा भने नापनक्साको काम करिब-करिब अन्तिम चरणमा पुगेको छ। ९ हजार ५०० भन्दा बढी भूमिहीन नागरिक रहेको यस पालिकाका अधिकांश क्षेत्रमा काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले बताएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरूको जग्गा विवाद रहेका केही वडाहरूमा बाहेक अन्य सबै ठाउँमा नापनक्सा सकिएको उनको भनाइ छ।
यसैगरी लालझाडी गाउँपालिकामा पनि केही वडाबाहेक अधिकांश स्थानमा नापजाँचको काम सकिएको छ। गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार हाल वडा नम्बर १ मा नापनक्साको काम भइरहेको छ भने प्राविधिक कारणले वडा नम्बर ५ मा पुनः नापजाँच गर्नुपर्ने अवस्था छ। करिब ४ हजार भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेको यस गाउँपालिकाले पनि बाँकी रहेका कामहरूलाई चाँडै टुङ्ग्याउने गरी तयारी गरिरहेको छ।


