Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयको स्पष्टीकरण

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयको स्पष्टीकरण

आइतबार, जेठ ३१ २०८३
आइतबार, जेठ ३१ २०८३
  • कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा राखेको टेम्पो भीरबाट खसालेको भनी सामाजिक सञ्जालमा सम्प्रेषित समाचारप्रति डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जेठ ३१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै आम नागरिकमा भ्रम नपरोस् भनी उक्त घटनाको यथार्थ वास्तविकता स्पष्ट पारेको हो।

    images

    डिभिजन वन कार्यालयका अनुसार उल्लेखित वन क्षेत्र नेपालकै अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानूनी ढङ्गले भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने र खोका-छाप्राहरू खडा गरी सरकारी वन जमिन कब्जा गर्ने शृङ्खला विगत लामो समयदेखि चल्दै आएकाले वन प्रशासनले यसलाई समय समयमा नियन्त्रण गर्दै आइरहेको थियो। यसै क्रममा विगत ५ महिना अगाडिदेखि सो क्षेत्रमा पुनः अवैध खोका छाप्राहरू खडा गरिएका थिए।

    विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामको अस्थिपञ्जर मात्रै रहेको स्पष्ट पारिएको छ। जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहाँ स्थापना गरिएको कार्यालयले जनाएको छ। सो कवाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० वटा छाप्राहरू हटे पनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी बसेका थिए। वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्‍याइदिए तापनि निजले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए। यस पटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिँदा निजले "टेम्पो नहटाउने, जे गर्ने गर्नुस्" भन्दै अटेर गरी गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ।

    जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयले स्पष्ट पारेको छ। कानुनबमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढङ्गले प्रचारप्रसार नगर्न तथा सत्य तथ्य बुझिदिनुहुन डिभिजन वन कार्यालय कैलालीले हार्दिक अनुरोध गरेको छ। उक्त विज्ञप्तिमा डिभिजन वन कार्यालयका प्रमुख (व.डि.व.अ.) डा. राम विचारी ठाकुर, व.व.अ. कृष्ण व. बोहरा, व.व.अ. जिवछ यादव, रेन्जर नवराज पाध्या, महेश धर्ति मगर र वन रक्षक रीता बोगटीसहित २१ जना वन अधिकृत तथा कर्मचारीहरूको संयुक्त हस्ताक्षर रहेको छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij