काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित पीडितका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आरक्ष पीडितहरूको टोलीले सभापति लामिछानेलाई सिंहदरबारस्थित संसद् भवनभित्र रहेको उनको कार्यकक्षमा भेट गरी आफ्ना माग र समस्या अवगत गराएका थिय ।
भेटका क्रममा पीडितहरूले दशकौँदेखि न्याय नपाएको गुनासो गरेका थिए।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराउँदै त्यसयता ३३ वटा आयोग गठन भए पनि समस्या समाधान हुन नसकेको बताए।
उनले आयोगहरू दलीय भर्ती केन्द्रमा सीमित भएको आरोप लगाउँदै विस्थापित परिवारहरू अझै पनि सडक र खोला किनारमा अव्यवस्थित तथा असुरक्षित जीवन बिताउन बाध्य रहेको बताए।
पीडितहरूको गुनासो सुन्दै सभापति लामिछानेले समस्या गम्भीर रहेको स्वीकार गर्दै राज्यका तर्फबाट न्याय दिलाउन आवश्यक पहल गर्ने आश्वासन दिएका थिए। उक्त भेटमा कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद दीपक बोहरा, केन्द्रीय सदस्य विजय जैरु लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।


