धनगढी । कैलाली जिल्लामा सैन्य फायरिङ अभ्यासका क्रममा बिहीबार बिहान आकस्मिक रूपमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार यो दुर्घटना मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा बिहान करिब ९:१७ बजे भएको हो।
गोराङ्गे ब्यारेकस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयबाट नियमित फायरिङ अभ्यासका लागि खटिएको टोलीमा ग्रिनेड पड्काउने क्रममा उक्त विस्फोट भएको थियो।
विस्फोटमा परी हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए । उनको दाहिने हातको हत्केला चुँडिएको थियो र शरीरका विभिन्न भागमा छर्रा लागेको थियो। उनलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा दिउँसो करिब १२:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा विष्टको नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको अधिकारीहरूले पुष्टि गरेका छन्।


