काठमाडौं । फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल (FFIN) र नेपाल मलखाद तथा किसान संस्थाको आयोजनामा कृषि, महिला किसानको सहभागिता तथा वित्तीय पहुँचसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कृषि नीति, बजेट, महिला कृषकको भूमिका तथा आधुनिक वित्तीय प्रविधिमार्फत साना किसानका अवसरबारे छलफल गरिएको थियो। सहभागीहरूले किसानका वास्तविक आवश्यकता र सरकारी बजेटबीच व्यवहारिक तालमेल हुनुपर्नेमा जोड दिएका थिए।

नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटीकी उपाध्यक्ष डा. सुधा सापकोटाले अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६ को सन्दर्भमा महिला कृषकको योगदान, चुनौती र अवसरबारे धारणा राखिन्।सोसाइटीका निर्देशक डा. मधुसूदन भट्टराईले आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेटको विश्लेषण गर्दै बजेटका सकारात्मक पक्ष र सुधार आवश्यक क्षेत्रबारे चर्चा गरे।

महिला उद्यमी विकास समितिकी अध्यक्ष सुनीता न्हेमाफुकीले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्र, रोजगारी र खाद्य सुरक्षाको प्रमुख आधार भएको बताइन्। किसानका समस्या समाधानका लागि राज्य, निजी क्षेत्र र वित्तीय संस्थाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै महिला सहभागिताबिना समावेशी र दिगो विकास सम्भव नहुने बताइन्। कृषि उद्यम, प्रविधि तथा वित्तीय पहुँचमा महिलाको सक्रिय सहभागिताले किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको धारणा थियो।

न्हेमाफुकीले AgFinTech र किसान क्रेडिट कार्डजस्ता आधुनिक वित्तीय प्रणालीले विशेषगरी साना तथा महिला किसानलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उल्लेख गर्दै यस्ता पहललाई व्यवहारमै प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेको बताइन्।


