काठमाडौं। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा सञ्चालन गरिएको रासायनिक मल गुनासो हटलाइनमा आएको सूचनाका आधारमा गुल्मीमा अनुदानको रासायनिक मल वितरणमा भएको अनियमितता र कालोबजारीको पर्दाफास भएको छ।
जिल्लाको कालिगण्डकी गाउँपालिकास्थित नव प्रगतिशील कृषि सहकारी संस्थाले सहकारीमार्फत वितरण गर्नुपर्ने सरकारी अनुदानको मल निजी पसलमार्फत बढी मूल्यमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
मन्त्री चौधरीले सञ्चालनमा ल्याएको रासायनिक मल गुनासो हटलाइन (९७०००९९११३) मा प्राप्त उजुरीपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गर्दा सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाबाट ल्याएको मल सहकारी कार्यालयबाट वितरण नगरी विभिन्न निजी पसलमा राखेर बिक्री गरिरहेको भेटिएको हो।
सम्झौताअनुसार सहकारीले ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो। हालसम्म ६०१ बोरा मल ल्याइसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको जनाएको सहकारीले वितरण प्रक्रिया भने नियमविपरीत सञ्चालन गरेको पाइएको छ।
प्रहरीका अनुसार कालिगण्डकी गाउँपालिका–१ हर्मिचौरस्थित नीलकण्ठ पाण्डेको पसल, वडा नं. २ अर्बेनीका कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसलबाट मल बिक्री भइरहेको भेटिएको छ।
अनुगमनका क्रममा मल खरिद गर्ने किसानलाई रसिद नदिइएको, खरिदकर्ताको अभिलेख नराखिएको तथा वितरण प्रक्रियामा समेत अनियमितता देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


