काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणलाई थप सुरक्षित, व्यवस्थित र दिगो बनाउन सात हजार मिटरभन्दा माथिको कम्तीमा एक हिमाल आरोहण गरिसकेकाले मात्र सगरमाथा चढ्न पाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
राष्ट्रियसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ पर्यटन ऐन र नियमावलीमार्फत यस्तो प्रावधान समावेश गर्न लागिएको जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार सगरमाथामा आरोहीको संख्या निरन्तर बढ्दै जाँदा भीड व्यवस्थापन र सुरक्षासम्बन्धी चुनौती पनि थपिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै पर्याप्त हिमाल आरोहण अनुभव भएका व्यक्तिलाई मात्र सगरमाथा आरोहणको अनुमति दिने व्यवस्था गर्न लागिएको उनले बताएका छन्।
उनले सगरमाथामाथिको अत्यधिक चापले विश्वकै सर्वोच्च शिखरको संरक्षणमा चुनौती थपिन सक्ने भन्दै पर्यटनलाई दिगो बनाउन हिमालमा मात्र निर्भर रहन नहुने धारणा राखेका हुन् । पर्यटनका अन्य सम्भावना र गन्तव्यको प्रवर्द्धनमा पनि समान रूपमा जोड दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
मन्त्री पौडेलले एउटै क्षेत्रमा केन्द्रित पर्यटन नीतिले दीर्घकालीन लाभ नदिने उल्लेख गर्दै प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनलगायत विभिन्न आयाम समेटेर अघि बढ्ने सरकारको योजना रहेको बताएका छन्।
उनले सरकारले तय गरेको लक्ष्यअनुसार पर्यटक भित्र्याउन अझै चुनौती रहे पनि हाल भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढिरहेको जानकारी दिएका थिए ।
पर्यटन क्षेत्रको प्रवर्द्धन र विस्तारका लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, विकास साझेदार तथा नेपाली डायस्पोरासँग सहकार्यलाई थप प्रभावकारी बनाइने पनि मन्त्री पौडेलले बताएका छन्।


