काठमाडौं । काठमाडौँ उपत्यकामा च उल्लङ्घनका घटना निरन्तर देखिँदा सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ। मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, ट्राफिक बत्ती उल्लङ्घन गर्ने तथा लेन अनुशासन पालना नगर्ने जस्ता गतिविधिका कारण दुर्घटनाको जोखिम बढिरहेको भन्दै ट्राफिक प्रहरीले नियमको पालना गर्न चालकलाई आग्रह गरेको छ।
यही क्रममा पछिल्लो २४ घण्टामा उपत्यकामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये मादकपदार्थ सेवन गरेर सवारी चलाएका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गरेका १२६ तथा तीव्र गतिमा सवारी चलाएका १८९ जना छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८५, एकतर्फी सडकमा सवारी चलाउने ५९ र अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १५७ जना कारबाहीमा परेका छन्।
उक्त कारबाहीबाट जरिवानास्वरूप राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


