काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि एक जना पाठाओ चालकले आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार अपराह्न निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले ह्विल लक गरेपछि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार उनले आफैँ चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका थिए ।
घटना लगतै त्यहाँ तैनाथ महानगर प्रहरी र स्थानीयले तत्काल हस्तक्षेप गरी आगो निभाएका थिए । आगोबाट घाइते भएका नेपालीलाई तत्कालै उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले भने ट्राफिक व्यवस्थापन र अवैध पार्किङ नियन्त्रणका लागि ह्विल लक अभियान सञ्चालन भइरहेको र नियमविपरीत पार्किङ गरिएकाले ह्विल लक गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र चालकको स्वास्थ्य अवस्थाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


