काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय मण्डलको मंगलबार बिहान २ः०५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहे पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मण्डलको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
मण्डलले आत्मदाहको प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


